PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

चिनिँया र नेपाली सैनिकले दश दिन संयुक्त अभ्यास गर्ने, बैशाख ३ गतेबाट सुरु हुँदै



पहिलोपोस्ट

चिनिँया र नेपाली सैनिकले दश दिन संयुक्त अभ्यास गर्ने, बैशाख ३ गतेबाट सुरु हुँदै

काठमाडौँ : नेपाल र चीनले बैशाख ३ गतेबाट दश दिन संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। नेपाली सेनाले विज्ञप्ती जारी गर्दै बैशाख ३ गते देखि १२ गतेसम्म संयुक्त सैन्य अभ्यास 'सगरमाथा फ्रेण्डसिप अभ्यास' सञ्चालन हुने जानकारी गराएको हो। 

नेपाल र चीनबीच पहिलोपटक संयुक्त सैन्य अभ्यास हुन लागेको हो। अभ्यास आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गर्न लागेको सेनाले विज्ञप्ती मार्फत जनाएको छ। 

'विश्वको गम्भिर सुरक्षा चुनौतीको रुपमा देखा पर्दै गईरहेको आतंकवादबाट भविश्यमा आउन सक्ने संभावित सुरक्षा चुनौतीलाई मध्यनजर राखी पहिलो पटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग मिति २०७४ बैशाख ३ गतेदेखि ऐ. १२ गतेसम्म नेपाल–चीन विशेष फौज संयुक्त सैन्य तालिम Sagarmatha Friendship-2017  नेपालमा सञ्चालन हुन गईरहेको कुरा अवगत गराउन चाहन्छौं', विज्ञप्तिमा भनिएको छ। 

सेनाले संयुक्त अभ्यासबारे जारी गरेको विज्ञप्ती अघि लामो भूमीका समेत बाँधेको छ। 

विज्ञप्तीमा भनिएको छ - 'नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा छिमेकी राष्ट्रहरु लगायत अन्य मित्रराष्ट्रहरुसँग द्धिपक्षीय तथा बहुपक्षीय रुपमा तालिम, सेमिनार तथा अभ्यासहरु मार्फत आफ्नो ज्ञान, सीप तथा अनुभवहरु आदान–प्रदान गरी पेशागत क्षमता अभिबृद्धि गर्दै आएको सर्व विदितै छ। त्यस सन्दर्भमा विपद् व्यवस्थापन लगायत अन्य साझा सरोकार (Common Interest) का विषयवस्तुहरुमा केन्द्रित रही दौत्य सम्बन्ध रहेका विभिन्न देशका सैनिकहरुसँग समय–समयमा संयुक्त तालिम, सेमिनार तथा अभ्यासहरु सञ्चालन गर्दै आएको छ।'

नेपालले भारतसँग मिलेर सूर्य किरण सैन्य अभ्यास गर्दै आएको छ। तर चीनसँग पहिलोपटक संयुक्त सैन्य अभ्यास हुन लागेको हो। नेपालले चीनसँग संयुक्त सैन्य अभ्यास गर्न लागेको विषयमा भारतले चासो देखाउँदै आएको छ। जसलाई स्पष्ट गर्न सेनाले भूमीका बाँधेको देखिन्छ। चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बेला समेत संयुक्त सैन्य अभ्यासबारे कुराकानी भएको थियो। 

सेनाले तालिमबाट दुवै देशले आफ्नो अनुभव आदान प्रदान गर्दै पेशागत क्षमता अभिवृद्धि हुने उल्लेख गरेको छ। 

द्धिपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरुबाट सैनिक ज्ञान तथा पेशागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कुटनीतिक सम्बन्ध अरु मझबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ विज्ञप्तीमा भनिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell