PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

उपत्यकामा आजदेखि ‘नो हर्न’, बजाए पाँच सय रुपैयाँ जरिवाना



पहिलोपोस्ट

उपत्यकामा आजदेखि ‘नो हर्न’, बजाए पाँच सय रुपैयाँ जरिवाना

काठमाडौँ : आजदेखि काठमाडौँ उपत्यका हर्न निषेधित क्षेत्र घोषित भएको छ। पूर्व निर्णय अनुसार यातायत व्यवस्था विभाग, ट्राफिक महाशाखा र काठमाडौं महानगरपालिकाको समन्वयमा उपत्यकालाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको हो। 

यो नियम सार्वजनिक, निजी, पर्यटकबाहक र सरकारी सबै सवारी साधनमा लागू हुनेछ। आकस्मिक सेवाका साधनहरु दमकल, एम्बुलेन्स, प्रहरी भ्यानहरुमा भने नियम लागू हुनेछैन। 


कति जरिवाना? 

कसैले यो नियमलाई अटेर गर्दै हर्न बजाएमा पहिलो पटक ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गर्नेछन्। त्यस्तै, दोस्रो पटकमा कारबाहीमा परे १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। तेस्रो पटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना लाग्ने छ। 

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ ले व्यवस्था गरे अनुसार नो हर्नको व्यवस्था ल्याएको बताए। 

दफा १६४ को (ग) मा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिए यातायात निरीक्षक वा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले तत्काल जरिवाना गर्न सक्ने उल्लेख छ। 

नो हर्नको व्यवस्था लागू भएरनभएको हेर्न विभागले करिब ११ लाख ५० हजार सवारी साधन दर्ता भएको उपत्यकामा ११ सदस्य अनुगमन टोली गठन गरेको छ। 

पाण्डेले दावी गरे, ‘कुनै पनि हालतमा हामी नो हर्न कार्यान्वयनमा ल्याउँछौं।’
 

कसरी तिर्ने जरिवाना?

सडकमा खटिएका ट्राफिक प्रहरीले हर्न बजाएमा तपाइलाई कारबाही गर्नेछन्। ट्राफिकले अन्य समयमा गरेको कारबाही जस्तै हर्न बजाउँदा पनि तपाईँको कागजपत्र लगेर कारबाही रसिद दिनेछ। 

रसिदमा तोकिएको कारबाही रकम तोकिएको बैँकमा जम्मा गरी ट्राफिक प्रहरी कार्यालयमा गएर कागजपत्र लिन सकिन्छ। 

कतिखेर हर्न बजाउन पाउने ?

केही अवस्थामा भने सवारी चालकले हर्न बजाउन पाउने छन्। मोडमा र हर्न नबजाउँदा दुर्घटना हुने सम्भावना भएमा चालकले हर्न बजाउन पाउने व्यवस्था भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङ्मार लामाले बताए। 

उनले भने ‘अनावश्यक हर्न बजाएर यात्रु बोलाउने, हर्नले साथीलाई इशारा गर्ने, जाम खोल्न ट्राफिक इशारा दिन हर्न बजाउनेलाई कडा कारबाही गर्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell