
काठमाडौं : यो हप्ता फ्राइडे रिलिज अन्तर्गत तीन नेपाली फिल्म सार्वजनिक भएका छन्। २०७४ को फ्राइडे रिलजसँगै नयाँ वर्ष २०७४ को वैशाख १ गतेको अवसरमा दीपेन्द्र लामा निर्देशित ‘घामपानी’, दीपेन्द्र के खनाल निर्देशित ‘लभ लभ लभ’ र जगदिश्वर थापा निर्देशित ‘राधे’ एकै साथ प्रदर्शनमा आएका हुन्।
दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म घामपानी वैशाख १ गते, दयाहाङको जन्मदिन पारेर सार्वजनिक गरिएको निर्माण युनिटले बतायो।
फिल्ममा फुर्वा तामाङको रुपमा दयाहाङ र तारा शर्माका रुपमा केकी अधिकारी देखिँदैछन्। उनीहरु बीच प्रेम हुन्छ। अन्तरजातीय प्रेमले निम्त्याउने अवस्था नै फिल्मको मुख्य विषय हो। घामपानीले सिंगल स्क्रिन तथा मल्टिप्लेक्स दुबैमा शो पाएको छ।
फिल्म ‘लभ लभ लभ’मा भने स्वस्तीमा खड्का, सुरज पाण्डे, रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना, आयन खड्कालगायतको अभिनय रहेको छ। शर्मिला पाण्डे निर्मित फिल्ममा सरल प्रेम कथा देखाइएको छ। फिल्मले सिंगल स्क्रिन तथा मल्टिप्लेक्स दुबैमा शो पाएको छ।
‘राधे’मा निखिल उप्रेती, अशष्मा नकर्मी, प्रियंका कार्कीको प्रमुख भूमिका रहेको छ। सुशील पोखरेलको निर्माण रहेको फिल्ममा निर्देशक थापाकै लेखन छ। फिल्मले सिंगल स्क्रिनमा मात्र शो पाएको छ।
बलिउडतर्फ नेपालका लागि फिल्म ‘बेगम जान’ सार्वजनिक भयो। फिल्ममा विद्या बालन मुख्य भूमिकामा देखिँदैछिन्। श्रीजीत मुखर्जी निर्देशित फिल्ममा इला अरुण, रजित कपूर, नसिरउद्दिन, चंकी पाण्डे, पल्लवी श्रद्दा लगायतको अभिनय रहेको छ।
हलिउडतर्फ यो हप्ता कुनै पनि नयाँ फिल्म नेपालमा सार्वजनिक भएका छैनन्।