
अमेरिकी सेनाले अफगानिस्तानमाको पूर्वीय प्रान्त नांगरहारमा अहिलेसम्मकै सबैभन्दा ठुलो बम प्रहार गरेको छ। अमेरिकासँग भएको आणबिक बम बाहेकको यो नै सबैभन्दा ठूलो बम हो। अमेरिकी सेनाले बिहिबार उक्त बम इस्लामिक स्टेटको भूमीगत सुरुङ मार्ग ध्वस्त पार्न प्रयोग गरेको हो।
यो बमलाई अमेरिकी सेनाले 'मदर अफ अल बम्स्' भन्दै आएको छ।
यो बम ९ मिटर लामो छ भने ९ हजार ८ सय किलोग्रामको छ। बमलाई प्लेनबाट जमिननमा प्रहार गरिएको थियो। त्यसक्रममा प्यासुटबाट झट्का दिएर खसालिएको थियो। त्यसलाई प्रहार गरेपछि 'फोर ग्रिड फिन'बाट निर्देशित गरेर चाहेको ठाउँमा प्रहार गर्ने गरिन्छ।
बमको प्रहारबाट एक माइल क्षेत्रमा एकसाथ ध्वस्त हुनसक्छ। अमेरिकाले यस्तै प्रकृतिको बम यसअघि इराक युद्धका लागि निर्माण गरेको थियो। तर प्रयोग भने गरेको थिएन । बम बनाउन मात्र १६ मिलियन डलर खर्च लागेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।
अमेरिकामा आणविक हतियार प्रयोगका लागि राष्ट्रपतिले अनुमोदन गर्नुपर्ने भएपनि यो बम प्रहारका लागि सेना आफैँले निर्णय लिन सक्छ। सन् २००३ मा बमको परिक्षण भएपनि प्रयोग भने गरिएको थिएन।
अमेरिकासँग रहेको जस्तै बम रसियासँग पनि रहेको छ। रसियाले त्यसको नाम नै 'फादर अफ अल बम्मस्' (एफओबी) राखेको छ। रसियाको बम 'फ्युल एयर' बम हो।
यस्तो ठूलो प्रकृतिको बम जंगलहरुमा हेलिकप्टर ल्याण्ड गर्नका लागि समतल जमिन निर्माण गर्न प्रयोग हुन्छ।