पोखरा : स्थानीय तहको निर्वाचनमा कास्कीका तीन प्रमुख राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ। २ लाख २४ हजार ८ सय ११ मतदाता रहेको कास्कीमा १ महानगरपालिका र ४ गाउँपालिका रहेका छन्।
कास्कीमा २३ राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि दर्ता गराएका छन्। देशका चार महानगरपालिका मध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकामा त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ।
पोखरामा प्रमुख राजनीतिक दलका उम्मेद्वारहरुले आफूलाई दाबेदारको रुपमा प्रस्तुत गरिरहेका छन्। तर दलहरुले भने उम्मेद्वारको टुङ्गो लगाएका छैनन्। मेयर पदका केही आंकाक्षीहरुले आफू उम्मेदवार बन्ने भन्दै पत्रकार सम्मेलन गर्न थालेका छन्।
नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, युवा नेता नन्दप्रसाद तिवारी, ऋृषि काफ्ले दाबेदार देखिएका छन्। एमालेका राजीव पहारी, कृष्ण थापा, श्रीनाथ बरालले मेयर पदमा दाबी गरेका छन्। पहारी एमाले भातृ संगठन युवासंघका अध्यक्ष समेत हुन्।
नेकपा माओवादी केन्द्रबाट मेयर पदका लागि झलकपाणी तिवारी, कोमलनाथ बराल, दिपक कोइरला र बखानसिंह गुरुङको नाम चर्चामा छ।
त्यस्तै उपप्रमुखमा महिलातर्फ एमालेका प्रभा कोइराला, देवका पहारी, मीना गुरुङ, काँग्रेसबाट कोपिला रानाभाट, सरस्वती गुरुङ, माओवादीबाट गोमा ढकाल, निर्मला न्यौपाने र कञ्चन खनालको चर्चा चलेको छ ।
के छ चहलपहल के छ विगत?
निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरु आमसभा, कोणसभा, सञ्चार माध्यमबाट प्रचारप्रसार तथा घरदैलो जस्ता कार्यक्रम गरी मतदातालाई आफनो पक्षमा आकर्षित गर्न थालेका छन्। तर दलहरुले उमेदवारको टुङ्गो लगाउन सकेका छैनन्।
चार निर्वाचन क्षेत्र भएको कास्कीमा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेस र एमालेले दुई/दुई सिट जितेका थिए भने २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रले तीन र एमालेले एक सिट जितेको थिए।
त्यस्तै २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले साविकको पोखरा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख, जिल्ला विकास समितिको सभापति, उप–सभापतिलगायत बहुमत गाविसका अध्यक्ष,उपाध्यक्ष तथा वडाध्यक्ष र वडासदस्य जितेको थियो। २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली काँग्रेसले त्यसरी नै बहुमत हासिल गरेको थियो।
सबै दल प्रतिष्पर्धा गर्न सक्ने उम्मेदवार छान्नमै व्यस्त भएको देखिन्छन्। नेकपा एमालेले चार गाउँपालिकामा उम्मेदवार छान्न एक/एकजना संयोजक तोकेको । संयोजकले दिएको सिफारिसका आधारमा उम्मेदवारको टुङ्गो लगाइने प्रचारप्रसार विभागका संयोजक तेजनारायण अधिकारीले जानकारी दिए।
नेपाली काँग्रेसले पनि वैशाख २ वा ३ गतेभित्र उम्मेदवारको टुङ्गो लगाइसक्ने जिल्ला अध्यक्ष कृष्ण केसीले बताए। पार्टी आमसभा र कोणसभामा लागेको र यी कार्यक्रम सकेपछि उम्मेदवार टुङ्गो लगाउनेतिर लागेको उनले जानकारी दिए। राससको सहयोगमा