PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कान्तिपुर गाथा : कनिकाको नयाँ वर्ष



किशोर नेपाल

कान्तिपुर गाथा : कनिकाको नयाँ वर्ष

आज शुक्रबार, आजै नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आजैदेखि शहर हर्न अथवा हरनबाट मुक्त। शहरमा मोटरको हरन बजाएर जनताको कानको जाली फुटाउने अधिकार कसैलाई छैन। कानको जाली जति फुटे फुटे। अब फुटन पाउने छैनन्। देशका शहर र गाउँहरु दिसामुक्त क्षेत्रहरुमा विभाजित भएजस्तै राजमार्ग र लोकमार्गहरु हरनमुक्त क्षेत्रहरुमा विभाजित भएका छन। सरकारी लक्ष्य अनुसार शहर र गाउँहरु दिसामुक्त क्षेत्र घोषित हुन नसकेपनि राजमार्ग र लोकमार्गहरु हरनमुक्त क्षेत्र घोषित हुनभने बेर लाग्ने छैन।

यी गाडी चलाउने मानिसहरुमा हरन नबजाउने चेतना आएन भने पनि राम्रै हुनेछ। सरकारी कोषमा जरिवानाको थुप्रो लाग्नेछ। अहिले जसरी ‘मापसे’ सरकारी आम्दानीको पक्का स्रोत बनेको छ, त्यसरी नै ‘हनि’ त्यो आम्दानी दोव्वर बनाउने स्रोत बन्नेछ। दुई चार महिना ट्राफिकले चुरीफुरी देखाउँदा पनि हनि आदेश कसैले मानेन भने मोटरबाट हरन निकालेर फाली दिए टण्टै खलास।
    
आजको दिन कनिका बिहानै उठी। ऐना अगाडि उभिएर आफूले आफैलाई नयाँ वर्षको शुभकामना दिइ। त्यसपछि मम्मी–पापालाई अंकमाल गर्दै ‘ह्याप्पी न्यू इयर’ भनी। ब्रेकफाष्ट खाइ र त्यसपछि पैदल पुगेकी थिइ दशरथ रंगशाला। ऊ दुई दिन अघि चुनाव रिपोर्टिङमा मधेश हिंडनुपर्ने मानिस, के के हो के के मा अलमलिएकी छे। तर, उ रंगशाला रिपोर्टिंगका लागि पुगेकी थिइन। माननीय मन्त्रीले धूलो नियन्त्रण र्‍यालीको नेतृत्व गर्ने थाहा पाएर तमाशा हेर्न आइ पुगेकी थिइ। माननीय मन्त्रीले उसलाई राम्ररी चिन्थ्यो। उसले पनि माननीय मन्त्रीलाई त्यो दिनसम्म राम्रैसँग चिनेकी थिइ जुन दिनसम्म उसले मन्त्रीको गर्लफ्रेण्ड भएको थाहा पाएकी थिइन।
 
केही दिनदेखि कनिकाले सुन्दर शरीर भएका सुन्दर मानिसहरु देख्न पनि पाएकी थिइन । कहिलेकहीं उ सोच्दथी, चार्लीसंगको ब्रेक–अप आवश्यक थिएन। अहिले पनि यस्तै लागि रहेको थियो उसलाई। एउटा तन्नेरी ठिटीलाई अर्को तन्नेरी ठिटो त चाहिन्छ नै। मित्रतामा बाँधिएका ठिटा–ठिटीलाई ज–जसले लाज नभएका र छाडा भनेपनि त्यो मुख अमिल्याउनु मात्रै हो। जो जसले जे जे उपदेश दिएपनि आखिर प्रकृतिको नियम बदलिने त होइन। नारी र पुरुषका बीच शरीर र आत्माको आकर्षण त शदीयौंदेखि छ।

उ मन्त्रीजीको र्‍यालीमा वसन्तपुरसम्म हिंडी। त्यहाँ पुगेर झोंछे नजीकको चिया पसलको ढोकमा अडेस लागी। उसले रेष्टुराँभित्र हेरी । भित्तामा एउटा बुच्चे हिरोको पोष्टर टाँसिएको देखी। कनिका आफ्नै मनसँग कुरा गर्न लागि – त्यो बुच्चेभन्दा मन्त्री कता कता राम्रो। मन्त्रीभन्दा दयाहांग झन् चौपट्टै राम्रो। एक्टिंग गर्न त मन्त्री पनि सिपालु छ। तर, दयाहांग उ भन्दा कति शिपालु कति। लूट–२ नै हेरौँ। ठमेल बजार गीतमा आलिशालाई अंगुर ख्वाउने अभिनय कस्तो थियो दयाको। हिजोपनि कनिका पुगेकी थिइ घामपानी सिनेमाको प्रेस शोमा। त्यसमा पनि दयाहांग र केकीको एक्टिङ जोडको थियो। उनीहरु सिनेमाको होइन, सिनेमा बाहिरका प्रेम जोडी जस्ता देखिएका थिए। स्वाभाविकता यति बढी देखिने कि असली जीवन नै प्रभावित हुने भय उत्पन्न हुने।

मन्त्रीजी धूलोका विरुद्ध गर्जिए। हरनका विरुद्ध पडकिए। त्यो भन्दा बढी उनले गर्नसक्ने केही थिएन। एकछेउमा केही पत्रकारहरु उभिएका थिए। ती सबैसँग कनिकाको चिनापर्ची थियो। ऊ हाइ भन्दै ग्रूप ज्वाइन गर्न पुगी। पत्रकारहरु आजको र्‍यालीलाई स्थानीय चुनावमा कान्तिपुर महा–नगरपालिकाबाट मेयर पदमा मन्त्रीज्यूको सम्भावित उम्मेदवारीसंग जोडदै त्यसैको चर्चा गर्दैथिए। एउटा पत्रकार भन्दैथियो, ‘मन्त्रीले खण्डन नै गरी सकेको छ कान्तिपुर मेयरमा नलडने भनेर। कसरी लडला ?’ अर्को जवाफ दिदै थियो, ‘यस्तो कुरा मन्त्रीले थाहै पाउँदैन नि । उ आफनो मनले उम्मेदवार हुने हो र ? पार्टीले उठाएपछि लडदिन भन्नै पाउँदैनन नि । कि पार्टी छोडनु पर्यो ।’

पुरुष पत्रकारहरुको चर्चामा कुनै कमेन्ट गरिन कनिकाले । स्टार न्यूजको ठिटो उसको छातीतिर कर्के आँखा पुर्‍याइरहेको थियो । कनिकाले थाहा पाइ सकेकी थिइ। तर, उसलाई पनि रमाइलो फिल भै रहेको थियो। ऊ त्यो स्टार केटालाई टीजग र्न चाही रहेकी थिइ। तर, त्यहाँ धेरैबेर उभिन पाइन ऊ। सुदिप्तीको फोनले उसको रमाइलोलाई डिष्टर्ब गर्‍यो। सुदिप्तीले भनी, ‘तुरुन्त अफिस आइपुग। इमरजेन्सी।’

कनिकाले भनी, ‘स्कूटी छैन । कसरी तुरुन्त आउने ?’ कनिकालाई लिन गाडी आउने भो। ऊ सोच्न थाली, ‘के इमरजेन्सी पर्यो होला त्यस्तो ?’ कनिकाले केही सोच्दा नसोच्दै सुदिप्तीको कार उसको अगाडि रोकियो।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका थप गाथा

महाराज महारानीको भोजमा राष्ट्रपति ​

चुनावी चक्रव्यूहमा कनिका
कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु
किन डराएका छन् देशका पत्रकार?

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell