PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

मोर्चाले पाँच बुँदे भद्र सहमति मानेन : उपप्रम कमल थापा 



पहिलोपोस्ट

मोर्चाले पाँच बुँदे भद्र सहमति मानेन : उपप्रम कमल थापा 

काठमाडौं : उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेशी मोर्चासँग भएको पाँच बुँदे भद्र सहमति उल्लंघन भएको बताएका छन्।

शुक्रबार रिपोटर्स क्लब पुगेका थापाले संशोधन प्रस्तावका विषयमा सरकार-मोर्चाबीच संशोधन प्रस्ताव लैजान पाँच बुँदे भद्र सहमति भएको दावी गर्दै त्यसलाई मोर्चाले विधेयकसँगै अस्वीकार गरेको बताए।
 
'आन्दोलनरत मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने उद्देश्यले नै मोर्चाको सहमतिमा नयाँ संशोधन विधेयक सरकारले ल्याएको हो, उहाँहरुसँग ५ बुँदे सहमति भएको हो, त्यही आधारमा हामीले विधेयक अघि बढाएका थियौं' थापाले भने,' ‘तर उहाँहरुले विधेयक अस्वीकार गर्ने निर्णय गर्नुभयो, मोर्चाको निर्णय अप्रत्याशित र अनपेक्षित छ।’

लामो समयसम्म वार्ता र सहमति प्रयास गरेर सरकारले नयाँ विधेयक प्रस्तुत गरेको भन्दै विधेयक लगेसँगै मोर्चाले नेताहरुले ५ सूत्रीय भद्र सहमति पनि उल्लंघन गरेको बताए।
 
'पुरानो विधेयकबाट सिमांकनबाहेक भाषा, नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्वलाई नयाँमा राख्ने, सिमांकनलाई संघीय आयोग गठन गरेर जाने, संविधानको धारा २७४ परिमार्जन गर्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या वृद्धि गर्ने सहमति भएको हो,’ थापाले भने।
 
सरकारले ल्याएको नयाँ संशोधन विधेयकमा मोर्चाले सहमति जनाएको भए प्रस्तावका पक्षमा दुई तिहाई बहुमत पुग्ने उनले जिकिर गरे। 'म अहिलेपनि सरकार र आफ्नो पार्टीको तर्फबाट मोर्चालाई विधेयक अस्वीकार गर्ने निर्णयमा पूनर्विचार गर्न आग्रह गर्छु,' उनले भने।

थापाले मोर्चाले निर्वाचनमा भाग नलिएपनि वैशाख ३१ गतेको चुनाव प्रभावित नहुने बताए। 'मोर्चा सहभागी भएपनि वा नभएपनि एकै चरणमा स्थानीय तहको निर्वाचन गराउने तयारीमा सरकार पुगेको छ,'  उनले भने।
 
मोर्चाको माग सम्बोधन गर्नको लागि उनीहरुसँगकै सहमतिमा संशोधन प्रस्ताव दर्ता गराएपनि मोर्चाले त्यसलाई अस्वीकार गर्नु गम्भीर भूल भएको उनले बताए। 'निर्वाचन बहिष्कार गर्नेजस्तो कडा निर्णय आफूलाई लोकतान्त्रिक शक्ति भन्ने मोर्चाले गर्नै मिल्दैनथ्यो,' उनले भने। 

थापाले आज बिहान मात्रै पनि सत्तारुढ प्रमुख तीन घटकबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको उल्लेख गर्दै मोर्चालाई चुनावमा लैजान अन्तिम समयसम्म पनि पहल गर्ने निर्णय भएको जानकारी दिए।

'तर, उहाँहरु नआएपनि निर्वाचन कुनै पनि हालतमा रोक्दैनौं, यसबारेमा काँग्रेस, माओवादी केन्द्र र राप्रपाबीच सहमति नै भएको छ’ थापाले भने।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाबाट आफू गरी तीन शीर्ष मात्र सहभागी भएको उनले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell