PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

किनमेलमा बजार गएकी महिला रहस्यमय तरिकाले बेपत्ता



पहिलोपोस्ट

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन्। 

सिलाइ मेसिन खरिद गर्नका लागि निकटवर्ती भारतीय बजारतर्फ गएकी धामी बेपत्ता भएकी हुन्। 

चैत २५ गते बजारतर्फ गएकी उनी घर नफर्केपछि परिवारजनले सबैतिर खोज्दासमेत फेला पार्न सकेका छैनन्। 

राहदानीको प्रतिलिपि घरभित्र फेला परेकाले दलालले प्रलोभनमा पारेर भारततर्फ लगेको हुन सक्ने आशंका परिवारजनले गरेका छन्। 

धामी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिइएको उनका जेठाजु धनबहादुर धामीले बताए। 
‘आफन्त र सम्भावित सबै क्षेत्रमा खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि प्रहरीलाई गुहारेका छौँ’ उनले भने। 

तीन छोरीकी आमा धामी झलारी बजारमा सिलाइ पसल सञ्चालन गर्दै आएकी थिइन्। भारतमा रोजगारीका लागि गएका उनका श्रीमान् पनि चार वर्षदेखि बेपत्ता रहेका छन्। चेलीबेटी बेचबिखन विरुद्धमा क्रियाशील संघ–संस्थालाई समेत धामीका परिवारले खोजतलासका लागि सहयोग गरिदिन आग्रह गरेका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell