PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

निर्वाचनप्रति कठोर बन्दै मोर्चा, थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै



पहिलोपोस्ट

निर्वाचनप्रति कठोर बन्दै मोर्चा, थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै

काठमाडौं : स्थानीय तह निर्वाचन अस्वीकार गर्दै आएको मधेशी मोर्चा थप आन्दोलनमा जाने भएको छ। संविधान संशोधनको माग राख्दै सरकारसँग पटक–पटक बार्तामा बसे पनि माग सम्वोधन नभएको भन्दै मोर्चाले बैशाख पहिलो साताबाट आन्दोलनमा जाने तयारीमा जुटेको हो। 

संविधान संशोधनका लागि संसद्मा दर्ता भएको प्रस्ताव सकरात्मक भए पनि प्रस्ताव पारित नभई चुनावमा नजाने अडानमा मोर्चा छ। आन्दोलनको स्वरुप र कार्यक्रम मोर्चाले आइतबार घोषणा गर्दैछ ।

आफ्ना माग पूरा नभएकाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न लागेको सद्भावनाका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले बताए। मोर्चाले घोषणा गर्ने आन्दोलनका कार्यक्रममा जिल्ला सदरमुकामा जुलुसदेखि तराइ बन्दसम्मका छन्। 

संशोधनपछि चुनाव गर्ने उदेश्यले चुनाव सार्ने योजनामा रहेको मोर्चा चुनाव सर्ने अवस्था नबनेमा प्रदेश नम्वर २ मा निर्वाचन प्रभावित पार्ने रणनीतिमा देखिएको छ। 

यसअघि नेपाली कांग्रेसका प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले पनि शनिबार सभापति शेरवहादुर देउवालाई मोर्चालाई समेटेर मात्र निर्वाचनमा जान आग्रह गरेका थिए। कांग्रेस सांसद् किरण यादवले मोर्चा निर्वाचनमा सहभागी नभए प्रदेश नम्बर २ मा निर्वाचनको औचित्य नहुने र हिंसा भड्किने सम्भावना रहेको बताइन्। मोर्चा संविधान जारी हुनुभन्दा अघिदेखि नै विभिन्न स्वरुपमा आन्दोलन गर्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell