
काठमाडौँ : राप्रपाले विधानबाट हिन्दु धर्म र राजतन्त्रसहितको प्रजातन्त्र हटाउने निर्णय पुनर्विचार गर्न निर्वाचन आयोगमा पुनः ज्ञापनपत्र बुझाएको छ। राप्रपा नेता सुशीलकुमार श्रेष्ठसहितको टोलीले निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याललाई भेटी आइतबार ज्ञापनपत्र बुझाएका हुन्।
अध्यक्ष कमल थापाको नामबाट हस्ताक्षर गरिएको पत्र बोकेर श्रेष्ठसहितका नेता आइतबार निर्वाचन आयोगको कार्यालय पुगेका हुन्।
यसअघि बुझाएको ज्ञापनपत्रमा आयोगले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै राप्रपाले दोस्रो पटक आयोगको ध्यानाकर्षण गराएको हो।
राप्रपा केन्द्रीय समितिले निर्णय पुर्नविचारका लागि पुनः स्मरण पत्र पेश गर्ने निर्णय गरे अनुसार ज्ञापनपत्र बुझाइएको हो। निर्वाचन आयोगले राप्रपाको विधान संविधानविपरित भएको भन्दै राजसंस्था र हिन्दु राष्ट्र शब्द हटाएपछि पार्टीले निरन्तर विरोध जनाउँदै आएको छ।
विरोध स्वरुप निर्वाचन आयोग घेराउ कार्यक्रम समेत गरिसकेको छ।