
धनगढी : कञ्चनपुर आइकोनिकले सिवाइसी अत्तरियालाई ६ विकेटले पराजित गर्दै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ।
आइतबार भएको खेलमा कञ्चनपुरले ८६ रनको सामान्य लक्ष्य १० ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो।
कञ्चनपुरको जितमा सुनिल धमलाले अलराउण्ड प्रदर्शन गरे। ब्याटिङमा सर्वाधिक २८ रन बनाएका उनले बलिङमा ३ विकेट लिएका थए। यस्तै सागर पुन र हसिम अन्सारीले समान २२ रनको योगदान गरे। कप्तान विनोद भण्डारी १६ रनमा नटआउट रहे।
त्यसअघि एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्र बनाउन सक्यो। अत्तरियाका लागि प्रदिप ऐरीले सर्विधक १९ रन बनाए भने ज्ञानेन्द्र कुँवर १५ रनमा नटआउट रहे। अत्तरियालाई कम स्कोरमा रोक्न कञ्चनपुरका सुनिल र अभिनास कर्णले ३-३ विकेट लिए।
जितपछि ५ खेलबाट काठमाडौं गोल्डेन्स र सिवाइसी अत्तरिया समान ४ अंक जोडेको कञ्चनपुर अंक तालिकामा चौथो स्थानमा उक्केको छ। रनरेटको आधारमा काठमाडौं तेस्रो स्थानमा ५ भने हारपछि अत्तरिया भने पाँचौ स्थानमा झरेको छ।
अब रुपन्देही च्यालेन्जर्स र टिम चौराह धनगढीबीच सोमबार हुने लिगको अन्तिम खेलबाट प्लेअफ पुग्ने बाँकी एक टीमको टुङ्गो लाग्नेछ।
४ खेलबाट ८ अंक जोडेको रुपन्देही र ५ खेलबाट ६ अंक जोडेको विराटनगर किंग्स यसअघि नै पहिलो र दवस्रो स्थानमा रहदै प्लेअफ पुगिसकेका छन्।
सोमबार रुपन्देहीले चौराहलाई हरायो भने कञ्चनपुर प्लेअफ पुग्नेछ। यदी चौराहले ठूलो अन्तरमा रुपन्देहीलाई पराजित गरेको खण्डमा भने चौराहले प्लेअफमा स्थान बनाउनेछ भने कञ्चनपुर बाहिरिनेछ।