काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी राष्ट्र भारतको पाँच दिने राजकीय भ्रमणका लागि भोलि सोमबार त्यसतर्फ प्रस्थान गर्दैछिन्।
राष्ट्रपतिको राजकीय भ्रमणको लागि गृह मन्त्रालयले सार्वजनिक विदा दिन मन्त्रिपरिषद् सचिवालयमा प्रस्ताव पठाएको छ। तर मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्ने भएकाले विदा दिने कि नदिने भन्ने विषयमा भने यो समाचार तयार पार्दासम्म निर्णय भइसकेको छैन।
गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भ्रमणको दिन विदा दिने प्रस्तावसहितको पत्र पठाएको जानकारी दिए। उनले भने, ‘हामीले पत्र पठाइसकेका छौं। अहिलेसम्म कुनै निर्णय भएको छैन।‘
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीले पत्र पाएको जानकारी दिए। उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गर्छ।‘
आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले विदाको टुङ्गो लगाउनेछ।
के छ परम्परा ?
नेपाल गणतन्त्रमा जानुअघि राष्ट्राध्यक्षका रुपमा रहेका राजाको औपचारिक भ्रमणका क्रममा विदा दिने प्रचलन थियो। राजा विदेश जाने दिन र फर्कने दिन गरी दुई दिन सार्वजनिक विदा दिइन्थ्यो।तर राजतन्त्र हटेपछि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव पहिलो औपचारिक भ्रमणका लागि २०६६ सालको फागुनमा भारत जाँदा सार्वजनिक विदा दिइएको थिएन।
त्यतिबेला राष्ट्रपतिको विदेश भ्रमणका लागि गृह मन्त्रालयले परम्परा पछ्याउँदै छुट्टीको प्रस्ताव माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदमा लगेको थियो। तर त्यसलाई रद्द गर्दै राष्ट्रपतिको भ्रमणमा बिदा दिइएको थिएन।
वर्तमान मन्त्रिपरिषद्ले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा दिएको सार्वजनिक विदाको चर्को आलोचना भएको थियो।