
काठमाडौं : दुई विभागीय क्लब नेपाल आर्मी र नेपाल पुलिस तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि ऐड्ने भएका छन्।
आइतबार आर्मीले साबिक विजेता हेल्प नेपाललाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले पराजित गर्दै पुलिससँगको भिडद्द्त पक्का गरेको हो।
पहिलो सेटमा २०–२३ ले पछि परेको आर्मीले लगातार ५ अंक जोड्दै २५–२३ ले सेट जितेको थियो। ४ भारतीय खेलाडि सम्मलित हेल्प नेपालले दोस्रो सेट २५–१९ ले जित्दै खेलमा फर्कियो। तेस्रो सेट पुन आर्मीले २५–२१ जित्दै खेलमा २–१ को अग्रता बनायो। चौथो सेट हेल्प नेपालले २५–२० ले पुन आफ्नो पक्षमा पारेपछि खेल निकै रोमाञ्चक बनेको हो।
तर निर्णायक तथा पाँचौ सेट आर्मीले १७–१५ ले जित्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
जारी लिगमा नेपाल पुलिस अपराजित रहदै फाईनल प्रबेश गर्दा आर्मी पुलिससँग मात्र पराजित भएको थियो।
महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्युडायमण्ड एकेडेमी फाइनल यात्रा तय गरेका छन्। दुव टिमले अपराजित रहँदै ४ खेलबाट समान १२ अंक जोडेका छन्। न्युडायमण्ड र एपीएफले एक खेल अगावै उपाधि भिडन्त पक्का गरेका हुन्।
खेल तालिका अनुसार महिला र पुरुषा दुवैतर्फ लिगमा पहिलो र दोश्रो स्थानमा रहने टिमले उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्ने छन्।
लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो। लिगको दुवै तर्फको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ।
विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार हात पार्नेछन्।