
म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीलाई आइतबार २-० ले पराजित गरेको छ। शीर्ष स्थानको चेल्सी हारेसँगै उपाधि होड रोचक बनेको छ। हारपछि चेल्सी र दोस्रो स्थानमा रहेको टोटनहमबीच जम्मा ४ अंकको मात्र फरक छ।
चेल्सीलाई १२ खेलको पर्खाइपछि युनाइटेडले पहिलो पटक पराजित गरेको हो। सन् २०१२ प्रिमियर लिगमै चेल्सीलाई ३-२ ले पराजित गरेयता सबैखाले प्रतियोगितामा गरेर युनाइटेडले चेल्सीलाई हराउन सकेको थिएन।
ओल्ड ट्राफोर्डमा युनाइटेडलाई शानदार जित दिलाउन मार्कुस रासफोर्ड र आन्द्रे हरेराले १-१ गोल गरे।
चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका जोसे माउरिन्होले खेल अघि मुख्य फरवार्ड ज्लाटन इब्राहिमोभिच र हेनरिख मिखातर्यान जस्ता फिट खेलाडीलाई आश्चर्यजनक रुपमा बेन्चमा राख्दै रासफोर्ड र जेस लिनगार्डलाई अगाडी खेलाएका थिए।
तर रासफोर्डले खेलको सातौँ मिनेटमै हरेराको पासमा गोल गर्दै माउरिन्होको निर्णयलाई सही साविग गरिदिए। यस्तै हरेरले ४९ औं मिनेटमा युनाइटेडका लागि दोस्रो गोल गरे।
पूर्व क्लब चेल्सी विरुद्ध माउरिन्होको पनि यो पहिलो जित हो।
चेल्सी विरुद्धको जितपछि ३१ खेलबाट ६० अंक जोडेको युनाइटेड पाँचौ स्थानमा उक्लिएको भने शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ। युनाइटेडभन्दा एक खेल बढी खेलेको छिमेकी सिटी ६४ अंकका साथ चौथो स्थानमा छ।
यता चेल्सीको ३२ खेलबाट ७५ अंक छ भने समान खेलबाट टोटद्दहम ७२ अंकका साथ दोस्रोमा छ।
रोबर्टो फिर्मिनोको एक मात्र निर्णायक गोल म्ददतमा वेष्टब्रोमलाई पराजित गरेको लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ। लिभरपुलको ३३ खेलबाट ६६ अंक भएको छ।