
बनेपा : मुलुकमा आवधिक निर्वाचन नभएका कारण राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस भएको छ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकबाट खासगरी प्रमुख राजनीतिक दलले निर्वाचनका आकांक्षी धेरै भएकाले उम्मेदवार छनोटमा धेरै समय लागेको बताएका छन्।
गाउँगाउँमा चुनावी माहोल बनिरहेको र जनतामा पनि उत्साह थपिएको वर्तमान अवस्थामा नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र, राप्रपालगायतले चुनावका लागि सम्पर्क कार्यालय स्थापना गरे पनि दर्जनाैँ पटक बसेका बैठकले पनि स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको निर्णय गर्न सकेका छैनन्।
दलले उम्मेदवारको विषयमा आन्तरिक गृहकार्य भइरहेको दाबी गर्दै वडा तहमा ८५ देखि ९० प्रतिशतसम्म उम्मेदवारको टुङ्गो लागेको बताएका छन्।
नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले स्थानीय निकायमा लामो समयको रिक्तताले पार्टीमा सन्तुलन गर्न गाह्रो महसुस भएको बताए।
उनले अहिलेको निर्वाचनका लागि पुस्तान्तरणको समस्या देखिएको भन्दै पार्टीभित्र निश्चित मापदण्ड तय गरेर यही ७ गतेसम्म स्थानीय तहको नेतृत्व टुङ्गो लाग्ने बताए।
नेकपा (एमाले) काभ्रेपलाञ्चोकका सचिव हरिशरण दाहालले मुलुकमा आवधिक निर्वाचन नभएका कारण उम्मेदवारको आकांक्षी धेरै भएको उल्लेख गर्दै मंगलबार बेलुकासम्म उम्मेदवारको टुङ्गो लाग्ने दाबी गरे।
उनले भने ‘तीन पुस्ता नै अहिलेको चुनावमा होमिएको छ। जिल्ला निर्वाचन कार्यालय, धुलिखेलमा दर्ता भएका २५ राजनीतिक दलमध्ये काभ्रेपलाञ्चोकबाट ११ वटा दल संसदमा प्रतिनिधित्व गर्छन्। जिल्लाको पुनःसंरचना अनुसार काभ्रेपलाञ्चोकमा सात गाउँपालिका र छ नगरपालिका छन्।
माओवादी केन्द्र काभ्रेपलाञ्चोकका अध्यक्ष दिनानाथ गौतमले स्थानीय निकायको लामो समयको रिक्ततापछि चुनाव भएकाले उम्मेदवारका आकांक्षी धेरै भएको उल्लेख गर्दै नयाँ संरचनाको अधिकार र कार्य क्षेत्रले पनि व्यक्तिगत आकांक्षा बढेको बताए।
उनले निर्वाचनमा स्थानीय आवश्यक्ताअनुसार जिल्लामा कार्यगत एकताको पनि सम्भावना रहेको उल्लेख गर्दै यही ९ गते स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लाग्ने बताए।
दुई लाख ३० हजार ८४९ मतदाता रहेको काभ्रेपलाञ्चोकमा १८९ मतदानस्थलमा ३०७ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयका अधिकृत मधुकर पोखरेलले जानकारी दिए। रासस