
विश्वकै सबैभन्दा चिसो स्थान नर्थ पोलमा भएको एफडब्लुडी नर्थ पोल म्याराथनमा दोस्रो र तेस्रो स्थान हात पार्ने नेपाली धावकहरु भीम गुरुङ र समीर तामाङ नगदसहित सम्मानित भएका छन्।
मंगलबार बतासे ट्रेल्सले राजधानीमा यी दुई खेलाडीलाई नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरेको हो।
सम्मानपछि भीम गुरुङ र समिर तामाङ
अप्रिल ९ मा माइनस ३१ डिग्री भन्दा कम तापक्रम हुने स्थान नर्थ पोलमा भएको म्याराथनमा नेपालका भीम गुरुङ ४ घण्टा १८ मिनेट समयका साथ दोस्रो तथा समिर ४ घण्टा ३१ मिनेट समयका साथ तेस्रो भएका थिए।
विश्वका २० देशका ५४ धावकले सहभागिता जनाएको उक्त म्याराथन विश्वकै सबैभन्दा चिसो र विश्वको मध्य भागमा हुने म्याराथन हो।
सम्मानपछि दुवै धावकले आ आफ्नो अनुभव सुनाउने क्रममा नर्थ पोल म्याराथन एकदमै अनौठो अनुभव रहेको बताए।
भीम गुरुङ सिनियर अल्ट्रा रनर
दोस्रो भएका भीम गुरुङले यसअघि हङकङमा चार पटक स्वर्ण पदक जितिसकेका छन् भने इटलीमा विश्व कीर्तिमान सहित च्याम्पियन बनेका थिए। यस्तै चीन र स्वीट्जरल्याण्डमा समेत उनले प्रतिस्पर्धा गरिसकेका छन्।
दोस्रो भएका भीम गुरुङले आफ्नो अनुभव यसरी सुनाए -
नेपालमा २ बज्दा त्यहाँ दौड सुरु भएको थियो। तापक्रम माइनस ४० डिग्री भन्दा बढी थियो। कहिलेकाँही माइनस ६० सम्म पुग्थ्यो। हाम्रो लक्ष्य पहिलो र दोस्रो हुने नै थियो। तर अलिकती प्राविधिक समस्याका कारण दोस्रो र तेस्रो भयौं। पोल्याण्डको खेलाडीले पछि उछिन्यो हामीलाई।
हिउँले गर्दा आँखाले हेर्नै नमिल्ने, चस्मा लगाए झर्न गाह्रो हुने। हामी ४/५ वटा कपडा लगाएर दौडेका थियौँ। पञ्जा पनि २ वटा लगायौँ।
सुरुमा १० राउण्ड भनेर हामी त्यही अनुसार दौडेका थियौँ। जसअनुसार हामी दुई जना टेक्निकल रुपमा दौडयौँ र ६ राउण्ड सम्मा म अगाडी थिए। १० राउण्डमा फिनिस हुन्छ भन्ठानेको अझै दौडनुपर्ने भयो। १३ राउण्ड रहेछ।
त्यसका बावजुद पनि हामी दोस्रो र तेस्रो हुन सफल भयौँ।
नेपाली धावक त्यहाँ गएर जित्न भनेको चानचुने कुरो होइन। मैले इटलीमा वर्ल्ड रेकर्ड राख्दा हजारौँले आएर मलाई अंकमाल गरेका थिए। त्यहती बेला म आफैलाई नौलो अनुभव भएको थियो। मैले हङकङमा पनि चार पटक जितिसकेँ। चीनमा भने रेकर्ड राख्न सकिन। अब नेक्स्ट दौड चीनमा हुँदैछ र म चीनमा प्रतिस्पर्धा गर्न जाँदैछु।
तेस्रो भएका समिर तामाङको अनुभव
मैले देश भित्र र देश बाहिर धेरै रेस गरे। जिते पनि। तर यस्तो खालका अनुभव भएको थिएन। नर्थ पोल म्याराथनमा एकदमै फरक अनुभव भयो।
पृथ्वी घुम्छ भन्ने पढेको सुनेको थिएँ। आखिर साँच्चैमा पृथ्वी घुम्दो रैछ भन्ने कुरा त्यही नर्थ पोलमा गएर थाहा पाएँ।
टाउकोको सिधा माथि घाम रहने र घाम पनि घुमिरहने। म्याराथनसँगै यो अर्को फरक अनुभूति भयो।
अर्को कुरा हामी त्यहाँ रहदा एक दिन पनि रात परेन। रात पर्ला र सुतौँला भनेको कहिल्यै रात नपर्ने। माइनस ४० डिग्री भन्टा कम तापक्रम।
यस्तै रेस सकिएपछि लुगा खोल्दा पनि पसिनाले पूरै भिजेर लुगा पनि आइज जस्तै भयो। चस्मामा पनि आइस। जताततै आइस। हिउँमा जति दौडे पनि दौडेको जस्तो नहुने जहाँको तही हुने।
अर्को कुरा त्यो ठाउँमा पुग्ने हामी दुई जना पहिलो नेपाली हुन पाउँदा र नेपालको झण्डा फर्फराउन पाउँदा एकदमै गर्व अनुभव भयो। हामीले पहिला हामी नेपाली आर्मी होँ भनेर भनेका थियौँ। त्यहाँ जितेपछि तिमीहरु को हँ भनेर भन्दा हामीले हामी गोर्खे आर्मी हौँ भनेर भन्यौँ। अनी उनीहरुले पनि वाउ तिमिहरु गोर्खे आर्मी पो तिमिहरु गोर्खे रहेछौ जितिहाल्छौ भने।
नेपाली भएर विश्वमा चिनाउन पाउनु एकदमै गौरवको कुरा हो।