PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

राष्ट्रपति भण्डारीको सम्मानमा विशेष रात्रिभोज



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीको सम्मानमा विशेष रात्रिभोज

भरत केसी 

नयाँदिल्ली : राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा भारतीय समकक्षी प्रणव मुखर्जीले मंगलबार रात्रिभोजको आयोजना गरेका छन्। 

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियामा तीव्र आर्थिक सृमद्धि गर्नुपर्ने चुनौती रहेकाले लामो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई स्थायित्व प्रदान गर्न तथा सामाजिक–आर्थिक क्षेत्रमा वास्तविक रुपान्तरण ल्याउनुपर्ने बताएकी छन्। 

राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मस्थल, शान्तिको दर्शनको मुलुकका तर्फबाट स्वागत गर्दै दिगो आर्थिक विकासका लक्ष्यमा पुग्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन्। राष्ट्रपति भण्डारीले आन्तरिक स्रोतको परिचालन तथा अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्यबाट हामीले सामाजिक–आर्थिक विकास गर्न चाहेका बताइन। 

नयाँ संविधान जारी भएपछि लोकतन्त्र तथा समावेशी सरकार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले संविधानले तल्लो स्तरका जनताका राजनीतिक एवम् आर्थिक स्तरमा सबलीकरण भएको बताइन। 

राष्ट्रपति भण्डारीले भनिन् ‘हामी महिला तथा सबै क्षेत्रका जनतालाई मूलधारमा ल्याई गरिबी, अशिक्षा र विभेद अन्त्य गरी महिला, सीमान्तकृत, अल्पसंख्यक समुदायलाई निर्णय गर्ने मुख्य स्थानमा ल्याउन चाहन्छौँ।’ 

राष्ट्रपति भण्डारीले संविधानबमोजिम सबै तहका निर्वाचन गरी नेपाललाई तीव्र आर्थिक वृद्धितर्फ केन्द्रित गर्ने स्पष्ट पारिन। 

नियमितरुपमा भएको दुई देशका उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धमा विशिष्टता कायम गरेको भन्दै उनले राष्ट्रपति मुखर्जीबाट केही समयअघि भएको सफल नेपाल भ्रमणको स्मरणसमेत गरिन। राष्ट्रपति भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा गरेको नेपालको भ्रमणको समेत स्मरण गरिन। 

उनले यस्ता महत्वपूर्ण भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताउँदै दुई मुलुकबीच भएका यस्ता बहुआयामिक सम्बन्धले आपसी भाइचारा तथा सहकार्यको मजबुद जग बसेको बताइन। 

सार्वभौम समानता, आपसी सम्मान, परस्पर फाइदा तथा स्पष्ट बुझाइ एकअर्काका महत्वकांक्षा भएको उल्लेख गर्दै उनले यस्ता विषयले ऐतिहासिक, आर्थिक, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताइन। 

आपसी सम्बन्धका आधारमा दुई मुलुकबीचको असल सम्बन्धलाई विश्वास तथा भरोसामा लैजान सकिने बताउँदै उनले आगामी दिनमा उन्नति र समृद्धिमा अझ सङ्गठित भएर अगाडि बढ्ने विश्वास व्यक्त गरिन। 

नेपाल अतिकम विकसित मुलुक भएकाले तीव्र सामाजिक तथा आर्थिक रुपान्तरणका लागि अन्तर्रा्ष्ट्रिय सहयोग आवश्यक पर्ने उल्लेख गर्दै उनले नेपालको लक्ष्य प्राप्तिका लागि भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरिन। 

नेपालको पूर्वाधार विकासमा भारतको सहयोग वृद्धि भइरहेको भन्दै राष्ट्रपति भण्डारीले अन्य क्षेत्रमा पनि सहायता विस्तार गरेर आपसी फाइदा लिन सक्ने विश्वास व्यक्त गरिन। 

दुई वर्षअघि नेपालमा गएको विनासकारी भूँइचालोले निम्त्याएको विपत्मा मित्र राष्ट्र भारतले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उनले पुनःनिर्माण अभियानमा पुर्‍याएको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरिन। राष्ट्रपति भण्डारीले पछिल्लो दशकमा समृद्धिमार्फत आर्थिक शक्तिमा उदय भएको भारत र भारतीय जनताको २१ औँ शताब्दीमा निरन्तर प्रगतिको कामना गरिन। 

यसअघि रात्रिभोजमा राष्ट्रपति भण्डारीको स्वागत गर्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले केही महिनाअघि आफूले नेपालको राजकीय भ्रमण गरेको स्मरण गर्दै भ्रमणका अवसरमा आपूmलाई दिइएको भव्य आतिथ्य र स्नेह आफ्नो मष्तिस्कमा ताजै रहेको बताए। 

उनले दुई देशबीच अद्धितीय र उदाहरणीय सम्बन्ध रहेको बताउँदै सो सम्बन्धलाई अझ बल दिन हामीहरुले सबै अवसर खोज्नुपर्ने र एकआपसको साझा हितका लागि सहयोगका नयाँ तरिकाको खोजी गर्नुपर्नेमा जोड दिए। 

उनले भने ‘नेपालको सामाजिक–आर्थिक विकासमा भारतको स्थायी रुची छ, दुई देशको खुसी, सरक्षा र कल्याण परस्परमा जोडिएको छ, नेपाली जनता र सरकारको प्राथमिकताअनुसार सबै सम्भावित सहायताका लागि भारत प्रतिबद्ध छ।’

नेपाली जनताको उद्यम र उपलब्धिको प्रशंसा गर्दै उनले आफ्नो बुद्धिमता तथा लचिलो सम्बाद र समझदारीद्वारा आम सहमति बन्ने कुरा सफल हुने विश्वास व्यक्त गर्दै संघीय र लोकतान्त्रिक ढाँचाभित्र आफ्नो समाजको सबै वर्गलाई साथै लिएर आफ्नो उद्देश्य पूरा गर्नेमा विश्वास व्यक्त गरे। 

भारतीय राष्ट्रपति मुखर्जीले दुवै देशका जनता, आतङ्कवादको सबै रुप र अभिव्यक्तिको विरोध गर्दछन् भन्दै हामीहरुका लागि विकास र प्रगति नै सर्वाधिक महत्वपूर्ण रहेको र साझा उद्देश्य प्राप्त गर्न एकआसमा सहयोग रहिरहने बताए। 

उनले भारतको प्रभावशाली आर्थिक अवस्थाबाट नेपाललाई लाभ उठाउन पनि आग्रह गरे। उनले राष्ट्रपति भण्डारीको यो भ्रमणले हाम्रो विशेष सम्बन्धको पुनः पुष्टि गरेको र हाम्रो बहुमुखी साझेदारीलाई अझ बढी बढावा दिने अवसर प्रदान गरेको पनि बताए। 

क्षेत्रीय र उपक्षेत्रीय सहयोगको माध्यमबाट हाम्रा साझा हितको विकसित गर्न भारत चाहन्छ भन्दै दुवै देशका जनता र समग्र क्षेत्रको अझ राम्रो भविष्यका लागि छिमेकी देशहरु मिलेर काम सक्ने उल्लेख गरे। 

राष्ट्रपति भवनमा आयोजना गरिएको सो रात्रिभोजमा भारतका उपराष्ट्रपति मोहमद हमिद अन्सारी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह उपस्थित थिए।  

रात्रिभोजमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादव, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, परराष्ट्र सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत भ्रमण टोलीका उच्चपदस्थ व्यक्तित्वको सहभागिता रहको थियो । 

यसअघि राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय उपराष्ट्रपति हमिद अन्सारीबीच पनि शिष्टाचार भेटवार्ता भएको थियो । 

भेटमा नेपाली भ्रमण दलका सदस्य परराष्ट्रमन्त्री डा. प्रकाशसरण महत, शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादव, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, राष्ट्रपति कार्यालयका वैदेशिक मामिला सल्लाहकार डा. मदनकुमार भट्टराई, राष्ट्रपतिका मुख्य स्वकिय सचिव भेषराज अधिकारी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदाश बैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायतको उपस्थिति रहेको थियो। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell