
बाबियाचौर : आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलले उम्मेदवार छनोट र सिफारिस कार्यलाई तीव्र बनाएका छन्।
नेपाली काँग्रेस बेनी नगर समितिको मङ्गलबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेत्रबहादुर महत, क्याप्टेन मीनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ।
उपप्रमुखका सिफारिस, वडाको अध्यक्ष तथा सदस्यका उम्मेदवार छनोटको विषयमा छलफल सुरु भएको जानकारी दिँदै म्याग्दी काँग्रेसका प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले एक÷दुई दिनमा टुङ्गो लाग्ने बताए।
काँग्रेसले मालिका गाउँपालिकाको प्रमुखमा श्रीप्रसाद रोका, उपप्रमुखमा बिमला रोका, अन्नपूर्णको प्रमुखमा डमबहादुर पुन, अन्नपूर्ण–६ को अध्यक्षमा कृष्णप्रसाद बरुवालको नाम सर्वसम्मत सिफारिस गरिसकेको छ।
उम्मेदवारको नाम सिफारिसका लागि आन्तरिक छलफल तीव्र बनाएका नेकपा एमालेले अन्नपूर्ण–६ मा गोकुल बरुवाल, बेनपा–१ मा टेकबहादुर रावल र ५ मा लक्ष्मण बानियालाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ। बुधबारसम्म सबै स्थानीय तहबाट उम्मेदवारको सिफारिस जिल्लामा आइपुग्ने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए।
बेनी नगरपालिकामा एमालेका प्रमोद श्रेष्ठ, सन्तोष रावल, देवबहादुर घले, सुरत केसी, मुना बानिया र राजकुमार थापा मेयरको उम्मेदवार बन्न आकांक्षी देखिएका छन्।
नेकपा (माओवादी केन्द्र)ले सबै स्थानीय तह र वडाबाट सिफारिस भएर आएका उम्मेदवारको अन्तिम टुङ्गो लगाएर वैशाख ९ गते घोषणा गर्ने जनाएको छ।
माओवादी केन्द्रमा बेनी नगरपालिकाको मेयरको उम्मेदवार बन्न कृष्णबहादुर थापा, शेरबहादुर केसी, विनोद केसी र ज्योति लामिछाने आकांक्षी देखिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकामा पूर्वअध्यक्ष एकेन्द्र रावल र उपप्रमुखमा सञ्जु बरुवाल उम्मेदवारको आकांक्षी रहेका छन्।
राष्ट्रिय जनमोर्चाले फौजबहादुर कार्की (विदुर)लाई मेयर र भुमाकुमारी कार्की (बिष्णु)लाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ। केन्द्र विवाद रहेको रघु गङ्गाबाहेक अन्नपूर्ण, धौलागिरि, मालिका र मङ्गला गाउँपालिका तथा त्यसअन्तर्गतका वडाको उम्मेदवार सिफारिसका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन्।
वडा तहका उम्मेदवार जिल्ला तहले र गाउँ तथा नगरपालिका प्रमुख, उपप्रमुखको उम्मेदवार जिल्लाको सिफारिसमा प्रदेशले छनोट गर्ने दलले जनाएका छन्। उम्मेदवार बन्ने आकांक्षी धेरै भएपछि म्याग्दीका प्रमुख दललाई उम्मेदवार छान्न निकै सकस भएकोे छ। एक नगरपालिका, पाँच गाउँपालिका र ४५ वडा रहेको म्याग्दीमा ७२ मतदानस्थल र एक सय दुई मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयले जनाएको छ। चुनावबाट दुई सय ३७ जनप्रतिनिधि निर्वाचित हुने जनाइएको छ। रासस