PahiloPost

May 23, 2025 | १० जेठ २०८२

आइपीएल : ब्याटिङ र स्पिनर चलेपछि बैंगलोरको दोस्रो जित, टी-२० मा गेलको दश हजार रन



पहिलोपोस्ट

आइपीएल : ब्याटिङ र स्पिनर चलेपछि बैंगलोरको दोस्रो जित, टी-२० मा गेलको दश हजार रन

जारी सिजनकै सर्वाधिक स्कोर बनाएको रोयल च्यालेन्जर्स बैंगलोरले आइपीएलमा दोस्रो जित हात पारेको छ।

ब्याट्सम्यान र  स्पिनरले राम्रो प्रदर्शन गरेपछि बैंगलोरले गुजरात लायन्सलाई मंगलबार २१ रनले पराजित गरेको हो। २१४ रनको उच्च लक्ष्य पछ्याएको गुजरातलाई बैंगलोरले १९२ रनमा रोक्दै जित हात पार्‌यो।

जितपछि ६ खेलबाट ४ अंक जोडेको बैंगलोर अंक तालिकामा छैटौँ स्थानमा उक्लेको छ। समान अंक भएपनि बैंगलोरले पुनेलाई रनरेटमा पछि पारेको हो। ५ खेलमा १ मात्र जित हात पारेको गुजरात अन्तिममा झरेको छ।

राजकोटमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेपछि २० ओभरमा २ विकेट गुमाएर २१३ रन बनायो।

यस सिजनमा पहिलो पटक बैंगलोरका ब्याट्सम्यानले उत्कृष्ट सुरुवात दिलाए। कप्तान विराट कोहली र क्रिस गेलले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेका थिए। बसिल थम्पीको बलमा एलबीडब्लु हुनुअघि गेलले ३८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ७७ रन बनाए। यससँगै टी-२० क्रिकेटमा गेलको १० हजार रन समेत पूरा भएको छ।

कोहलीले ५० बलमा ७ चौका र १ छक्काको मद्दतमा ६४ रन बनाए। त्यसपछि क्रिजमा पुगेका ट्रेभिस हेड र केदार जाधवले पनि उत्कृष्ट प्रदर्शन गरे। जाधवले नटआउट ३८ तथा हेडले नटआउट ३० रन बनाए। दुवैले समान १६ बल खेले। जाधवले ५ चौका र २ छक्का तथा हेडले २ चौका र १ छक्का प्रहार गरे। 

उच्च लक्ष्य पछ्याउने क्रममा गुजरातले पहिलो ओभरमै ड्वाने स्मिथलाई गुमायो। त्यसपछि गुजरातले अवश्याक रनरेटमा ब्याटिङ गरे पनि नियमित अन्तरमा विकेट गुमाउँदा हार बेहोर्नुपर्‍यो।

गुजरातका लागि ब्रेण्डन म्याकुलमले सर्वाधिक ७२ रन बनाए। म्याकुलम क्रिजमा रहदासम्म गुजरातको जित्ने सम्भावना कायमै रहे पनि उनी आउट भएपछि लक्ष्य कठिन बन्यो। म्याकुलमले ४४ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए। 

यस्तै, इसान किसनले १६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३९ रन बनाए पनि जितका लागि पर्याप्त भएन। कप्तान सुरेश रैना र रविन्द्र जडेजाले समान २३ रन बनाए।

बलिङमा बैंगलोरका युजभेन्द्र चहालले ३ तथा पवन नेगी, श्रीनाथ अरविन्द र अडम मल्नेले समान १ विकेट लिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell