PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मोर्चा सहभागी भए दुई चरणमा निर्वाचन, एमालेले दियो ग्रीन सिग्नल



मनोज सत्याल

मोर्चा सहभागी भए दुई चरणमा निर्वाचन, एमालेले दियो ग्रीन सिग्नल

काठमाडौं : आन्दोलनरत मधेशी मोर्चाले निर्वाचनमा भाग लिए दुई चरणमा स्थानीय निर्वाचन गर्न प्रमुख दलहरु सकारात्मक देखिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको प्रमुख पाँच दलको बैठकमा प्रधानमन्त्रीले मोर्चा निर्वाचनमा सहभागी भए दुई चरणमा निर्वाचनमा जाने प्रस्ताव गरेका थिए। 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेकका अन्य दलहरुले मोर्चाको सहभागिता सुनिश्चित भए दुई चरणमा जान सकिने बताएका छन्। एमाले एकै चरणको निर्वाचनको पक्षमा भए पनि मोर्चा सहभागी हुने अवस्थामा सकरात्मक हुने देखिएको छ। बैठकपछि एमाले नेताहरुले दोस्रो चरणको निर्वाचनप्रति पनि सकरात्मक अभिव्यक्ति दिएका छन्। 

बैठकले वैशाख ३१ का लागि तय भएको निर्वाचनमा मोर्चालाई पनि सहभागी गराउन सबै दलले मोर्चासँग परामर्श गर्ने निर्णय गरेको छ।
बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मधेशी मोर्चा निर्वाचनमा भाग लिने सर्तमा दुई चरणमा निर्वाचन गर्न सकिने बताए। देउवाले भने ‘मधेशी मोर्चा आउँछ भने दुई चरणमा जान सकिन्छ।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने निर्वाचन एकै चरणमा गर्ने विषयमा सहमति भएको दाबी गरे। नेम्वाङले एकै चरणको निर्वाचनमा मोर्चालाई सहभागी गराउन सबै दलले मोर्चासँग परामर्श गर्ने निर्णय भएको बताए। 

बैठकपछि नेम्वाङले भने ‘अहिलेको अवस्थामा एकै चरणमा निर्वाचन गराउने सहमत भयो। मोर्चालाई अन्तिम समयसम्म निर्वाचनमा सहभागी गराउन सरकारले पहल गर्ने र प्रतिपक्षले त्यसमा सहयोग गर्नेबारे पनि छलफल भयो। मोर्चालाई वैशाख ३१ गतेको निर्वाचनमा नै सहभागी गराउन आवश्यक छलफलको पहल गर्ने निर्णय भएको छ।’ 

माओवादी केन्द्रका नेता तथा उर्जामन्त्री जनार्दन शर्माले केही स्थानमा दोस्रो चरणमा निर्वाचन हुनेगरी छलफल भएको बताए। शर्माले मोर्चा निर्वाचनमा सहभागी हुने भएमा केही क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने बताए। 

बैठकपछि उनले भने ‘मोर्चाको आन्दोलनको घोषणाले वातावरण राम्रो बनेको छैन। अब चुनावबारे यताउता सोच्न सकिन्न। मधेशी मोर्चालाई तयारीका लागि समय चाहिए समय प्रदान गर्न सकिन्छ। कतिपय स्थानमा दोस्रो चरणमा निर्वाचन गर्न सकिन्छ।’

बैठकमा मधेशी मोर्चा सहभागी हुने भएमा दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव प्रधानमन्त्रीले राखेका थिए। मोर्चा सहभागी हुने अवस्थामा दुई चरणमा निर्वाचन गर्ने गरी प्रधानमन्त्रीले प्रस्ताव राखेको गृहमन्त्री विमलेन्द्र निधिले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell