धनगढी : राउण्ड रोविन लिगमा शीर्ष स्थानमा रहेको रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै विराटनगर किंग्स सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलको फाइनलमा प्रवेश गरेको छ।
बुधबार एसएसपी क्रिकेट मैदानमा भएको पहिलो क्वालिफयार्समा १२९ रनको लक्ष्य पछ्याएको रुपन्देहीले ९९ रन मात्रै बनाएपछि विराटनगर विजयी भयो। यससँगै विराटनगरले राउण्ड रोविन लिगमा बेहोरेको हारको बदला समेत लिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाउदै १२८ रन बनायो। उसका लागि आरिफ शेखले सर्वाधिक ३६ रन बनाए। बलिङमा रुपन्देहीका शक्ति गौचनले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लए।
जवाफमा रुपन्देहीले पूरै २० ओभरमा सबै विकेट गुमाउदै ९९ रन मात्र बनाउन सक्यो। रुपन्देहीका लागि विक्रम सोबले २३ तथा पुष्प थापाले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
रुपन्देहीलाई कम स्कोरमा रोक्न सुशिल कँडेलले सर्वाधिक ४ तथा सन्दीप लामिछानेले २ विकेट लिए। सुशिलले सर्वाधिक रन बनाएका विक्रम र शहाब आलम अन्तिम ओभरमा बोल्ड आउट गरे। उनले अन्तिम ओभरमा कुनै रन दिएनन्। त्यसअघि उनले ओपनर नुरध्वज सेनलाई शुन्यमा तथा पुष्प थापालाई २२ रनमा बोल्ड आउट गरे।
यता हारका बावजुत पनि रुपन्देहीले फाइनलमा पुग्ने अर्को मौका पाउनेछ।
बुधबारै हुने काठमाडौं गोल्डेन्स र टिम चौराह धनगढी बीचको इलिमिनेटर खेलको विजेतासँग रुपन्देहीले फाइनल प्रवेशका लागि खेल्नेछ।
लग चरणमा रुपन्देहीले ५ खेल मध्ये ४ खेल जितेको थियो।