
काठमाडौं: नेपाली फिल्म इन्डस्ट्रीको इतिहासमा सबैभन्दा धेरै संस्करणमा निर्माण भएको फिल्मको नाममा रेकर्ड बनाएको 'नाई नभन्नु ल'को पाँचौ संस्करण बन्ने निश्चित भएको छ। फिल्मका लेखक, निर्देशक तथा निर्माता विकासराज आचार्यले यो जानकारी दिएका हुन्।
फिल्मको पाँचौ संस्करण आगामी नयाँ वर्षसम्ममा प्रदर्शनमा आउने उनले बताए । 'फिल्मको प्रि प्रोडक्शनको काम निकै अगाडि बढिसकेको छ', उनले पहिलोपोस्टलाई जानकारी दिंदै भने।
लभ स्टोरीसहितको सोसल ड्रामा बन्ने आचार्य बताउँछन्। फिल्मको लेखन समेत निर्देशक आचार्यले गरेका छन्। फिल्म नामका आधारमा सिरिज कहलिए पनि कुनै संस्करण पनि सिक्वेल भने होइनन्।
त्यस्तै आगामी सिरिजको कलाकार अनुभव रेग्मी बाहेक अन्य कलाकार फिल्मका लागि चयन भएका छैनन्। भने,'अन्य कलाकार पनि दोहोरिएलान्। समय आएपछि जानकारी दिन्छु।'
फिल्म 'छक्कापञ्जा २'को लागि समय दिन परेकाले दशैं अघिसम्म भने नाईं नभन्नु लको काम अगाडि नबढ्ने उनको तर्क छ। भने,'आउँदो दशैंसम्ममा कलाकार फाइनल गरेर छायाँकनका लागि फ्लोरमा निस्कन्छौं।'