
धनगढी : समगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलको फाइनल प्रवेशका लागि टिम चौराह धनगढी र रुपन्देही च्यालेन्जर्स दोस्रो क्वालिफायर्समा भिड्ने भएका छन्।
राउण्ड रोविन लिगमा चौथो भएको पारस खड्काको कप्तानीमा रहेको चौराहले इलिमिनेटरमा तेस्रो स्थानको काठमाडौं गोल्डेन्सलाई ६ विकेटले हराउँदै रुपन्देहीसँगको भेट तय गरेको हो। १२४ रनको लक्ष्य चौराहले १० बल अगावै ४ विकेट गुमाएर पूरा गर्यो।
राउण्ड रोविन लिगमा चौराहले रुपन्देहीलाई नै पराजित गर्दै प्लेअफ यात्रा तय गरेको थियो।
सुरुवाती तीन खेल हारेको चौराह त्यसपछि लगातार ३ खेलमा जित हात पार्दै फाइनल नजिक पुगेको हो।
यता बसन्त रेग्मीको कप्तानीमा रहेको गोल्डेन्स भने प्रतियोगिताबाट बाहिरिएको छ।
यता रुपन्देही भने पहिलो क्वालिफायर्समा विराटनगर किंग्ससँग हारेको थियो। तर रुपन्देहीले अर्को मोका पाएको हो।
एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
उसका लागि सुमित महर्जनले सर्वाधिक ३१ रन बनाए भने नरेश बुढाएरले २९ रन जोडे। यस्तै रोहित कुमार पौडेल ३१ रनमा नटआउट रहे। बलिङमा चौराहका ललित राजवंशी र अमर सिंह राउटेलाले २-२ विकेट लिए।
जवाफमा चौराहले सहजै लक्ष्य पूरा गर्यो। चौराहको जितमा ओपनर अनिल कुमार मण्डलले सर्वाधिक ४४ तथा पृथु बास्कोटाले २२ रन बनाए। यस्तै आरिफ शेख २२ रनमा नटआउट रहे। काठमाडौंका सन्तोस भट्टले २ विकेट लिए।
चौराहले अब बिहीबार दोस्रो क्वालिफायर्समा रुपन्देहीसँग प्रतिस्पर्धा गर्नछ। यस खेलको विजेताले उपिधका लागि शनिबार शरद भेषावकरको विराटनगर किंग्ससँग खेल्नेछ।