_.jpg)
साविक विजेता सनराइजर्स हैदरावाद आइपीएल क्रिकेटको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। बुधबार भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गर्दै हैदरावादले यस सिजनको चौथो जित हासिल गरेको छ।
६ खेलमा ४ जित हात पारेको हैदरावादले कोलकता र मुम्बई समान ८ अंङक जोडेको छ। रनरेटका आधारमा कोलकता शीर्ष स्थानमा छ भने मुम्बई तेस्रोमा झरेको छ। पराजित दिल्ली चौथो स्थानमा यथावत छ।
यस सिजन पहिलो खेल खेलेका न्यूजिल्याण्डका केन विलियम्सनले ८९ रन बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो।
कप्तान डेविड वार्नर ४ रनमा आउट भएपनि विलियमसन र शिखर धवनले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गर्दै स्कोर उकासेका थिए।
५१ बल खेलेका विलियमसनले ६ चौका र ५ छक्का प्रहार गरे। धवनले ५० बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ७० रन बनाए। मोएसिस अनरिके १२ रनमा नटआउट रहे।
दिल्लीका लागि ४ वटै विकेट क्रिस मोरिसले लिए।
१९२ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि श्रेयस अएरले नटआउट रहदै सर्वाधिक ५० रन बनाए भने सन्जु सामसनले ४२, करुण नायरले ३३ तथा एन्जेलो म्याथ्युजले ३१ रन बनाए।
हैदरावादका लागि मोहम्मद सिरजाले २ तथा सिद्धार्थ कउल र युभराज सिंहले १-१ विकेट लिए।