PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

दलहरुले पाएनन् दलित महिला उम्मेद्वार 



पहिलोपोस्ट

दलहरुले पाएनन् दलित महिला उम्मेद्वार 

धनगढी : हरेक वडामा एकजना दलित महिला सदस्य अनिवार्य चुन्नुपर्ने कानुनी प्रावधानले कैलालीका राजनीतिक दल दलित महिला उम्मेदवार नपाउँदा समस्यामा परेका छन्। 

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायत दलले अधिकांश वडामा दलित महिला उम्मेदवार पाउन सकेका छैनन्। दलित महिला उम्मेदावरको खोजीमा दलका नेता लागे पनि सबै वडामा ठूला दलले समेत उम्मेदवार पाउन नसकेको बताइएको छ। 

दललाई उम्मेदवार हुन चाहने दलित महिला पाउन मुस्किल भएको नेपाली काँग्रेसका जिल्ला उपसभापति प्रकास बमले बताए। दलित महिला उम्मेदवारको अभावकै कारण एकजना दलित महिलालाई आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाउने तयारी स्वरुप तीन दलका नेता छुट्टाछुट्टै रुपमा ती महिलाको घरमा पुगेर आ–आफ्नो पक्षमा पार्ने प्रयाससमेत गर्ने गरेको देखिएको छ। 

एमाले नेत्री कलावती जोशीले वडामा दलित महिला उम्मेदवार पाउने समस्या ठूलो देखिन थालेको बताइन्। उनले भनिन् ‘पाँच ठूला दलका लागि मात्र जिल्लामा ६ सय ३० दलित महिला चाहिएको छ।’

उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेलगायत योग्यता तोकिएकोमा २१ वर्ष उमेर पुगेर पनि कतिपय महिलाले अझै नागरिकता लिइनसकेको र अन्य कतिपयले मतदाता नामावलीमा नाम समावेश नगरिसकेका कारण पनि दलित महिला उम्मेदवार पाउन थप समस्या सिर्जना हुने देखिएको छ। 

छ नगरपालिका, ६ गाउँपालिका र एक उपमहानगरपालिका गरी कैलालीमा रहेका १३ वटा स्थानीय तहमा जम्मा एकसय २६ वडा रहेका छन्। ‘पार्टी र चुनावका विषयमा नै जानकारी नभएका महिलालाई उम्मेदवार बनाउनुको अर्थ छैन’, काँग्रेस जिल्ला सभापति बमले भने ‘कानुनी व्यवस्थाले यस्ता महिलालाई नउठाई नहुने बाध्यता सिर्जना भएको छ।’ 

नेकपा (माओवादी केन्द्र)का नेता हरि चौधरी (उत्सव) ले पनि दलित महिला उम्मेदवार पाउन निकै सकस भएको स्वीकार गरे। अन्य पार्टीको तुलनामा माओवादी केन्द्रसँग उम्मेदवार हुने दलित महिला भएपनि धेरै वडामा उम्मेदवार नपाउने समस्या उत्पन्न भएको उनले बताए, रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell