
फलेवास : निःशुल्क तथा गुणस्तरीय शिक्षा, तालिमप्राप्त शिक्षक शिक्षिका, शान्त वातावरण भएको नगरपालिकाभित्रकै यहाँको एक सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेको छ।
पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कस्थित जनएकता प्राथमिक विद्यालयमा विद्यार्थी संख्या रित्तिदै जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो। स्थानीयवासी दिनप्रतिदिन बसाइँ सर्ने क्रम बढेपछि विद्यार्थीको संख्या न्यून बनेको हो । विद्यालयमा पढ्ने केही विद्यार्थी सोही गाउँ आसपास माविमा पढ्न जान थालेपछि उक्त विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको शिक्षकले गुनासो गरेका छन्।
विसं २०४८ मा स्थापना भएको सो विद्यालयले केही वर्षपहिले ५० जनासम्म विद्यार्थी पढ्न आउने गरेका भएपनि अहिले एकपछि अर्को गरेर विद्यार्थी संख्या घट्न थालेको विद्यालयले जनाएको छ।
विद्यालयमा बाल शिक्षामा अध्ययन गर्नेसहित अहिले पाँच विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको विद्यालयका प्रध्यानाध्यापक अमृत गुरुङले बताए। उनले गाउँमा प्रायः विद्यार्थी नभएको भन्दै साविकको आर्थर गाविस ठूलो भए पनि जनजातिका कुनै पनि विद्यार्थी विद्यालयमा पढ्न नआउने बताए।
उनका अनुसार विद्यालयमा दलित विद्यार्थी मात्र पढ्न आउने गरेका छन्। उनीहरु पनि घरमा कुनै काम भएमा अभिभावकले विद्यालय नै नपठाउने गरेको उनले बताए। विद्यार्थी पढ्न नआएको खण्डमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्थासमेत आउने गरेको छ। विद्यालयमा एक कार्यालय सहयोगीसहित पाँच शिक्षकको दरबन्दी रहेको छ। कक्षा ३ सम्म आधारभूत प्राविको पढाइ हुने उक्त विद्यालयमा चालु शैक्षिकसत्रमा ११ विद्यार्थी भर्ना भएको भएपनि अहिले पाँचजना मात्र नियमित आउने गरेका छन्।
जिल्ला शिक्षा कार्यालय पर्वतले न्यून विद्यार्थी भएका विद्यालय गाभ्ने नीति ल्याएको भए पनि उक्त विद्यालय भने अहिलेसम्म गाभिएको थिएन। विद्यार्थीको संख्या यही अवस्थामा रहेमा उक्त विद्यालयलाई नजिकैको अर्कोसँग गाभ्ने तयारी गरिएको जिशिका पर्वतले जनाएको छ।
पछिल्लो समय निजी विद्यालयको अङ्ग्रेजी शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्न थालेपछि जिल्लाका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून हुँदै गएको छ। रासस