काठमाडौं :आसन्न चुनावलाई लक्षित गरी मधेशी मोर्चामा आवद्ध पाँच राजनीतिक दल एकीकृत हुने भएका छन्। एकीकृत भई गठन हुने ‘राष्ट्रिय जनता पार्टी’ व्यवस्थापिका संसदमा पाँचौं ठूलो दल हुनेछ।
पाँच दलको एकीकरण बिहीबार दिउँसो १ बजे कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा हुने तय भएको छ।
अहिले संसद्मा पाँचौं ठूलो दल विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम छ। जनमुक्ति पार्टी लोकतान्त्रिकसँगको एकीकरणपछि गच्छदारको दल पाँचौं ठूलो दल बनेको थियो। त्यसअघि अशोक राई र उपेन्द्र यादव नेतृत्वको दल एकीकरणपपछि बनेको संघीय समाजवादी फोरम नेपाल संसद्मा पाँचौं ठूलो दल थियो।
राष्ट्रिय दलको मान्यता पाउनका लागि समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत र प्रत्यक्षमा एक सिट अनिवार्य जित्नु पर्ने राजनीतिक दलसम्वन्धी कानुनको व्यवस्थापछि पछिल्लो समय दलहरुबीच धमाधम एकीकरण भइरहेको छ। एकीकरणको सिलसिलामा तराई केन्द्रित पाँच दल जोडिएका हुन्।
एकीकरण हुन लागेको तराई–मधेश लोकतान्त्रिक पार्टीका (तमलोपा) ११ सांसद् छन्। प्रत्यक्ष निर्वाचित तीनसहित तमलोपाका ११ सांसद् छन्।
यस्तै, प्रत्यक्ष निर्वाचित एकसहित सद्भावनाका ६ सांसद् छन्। राजेन्द्र महतो नेतृत्वका दल सद्भावनाका एकमात्र निर्वाचित सांसद् सञ्जय साह निलम्वनमा छन्। जनकपुर बम काण्डमा अदालतले दोषी ठहर गरेपछि उनी निलम्वनमा परेका हुन्।
महिन्द्र राय यादव नेतृत्वको तराई मधेश सदभावना पार्टी नेपालका तीन जना सांसद् छन्। यादव प्रत्यक्ष निर्वाचित सांसद् हुन्। भने, अन्य दुई समानुपातिक सांसद् हुन्।
शरतसिंह भण्डारी नेतृत्वमा रहेको राष्ट्रिय मधेश समाजवादी पार्टीका पनि तीन नै सांसद् छन्। तीनै जना सांसद् समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गरेका हुन्।
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का तर्फबाट संसद्मा एक सांसदको प्रतिनिधित्व छ। राजकिशोर यादव नेतृत्वमा रहेको दलबाट सरिता कुमारी यादव सांसद् छिन्।
समानुपातिकमा कसको कति भोट थियो?
तराई–मधेश लोकतान्त्रिक पार्टी १,८१,१४०सदभावना पार्टी १,३३,२७१
राष्ट्रिय मधेश समाजवादी पार्टी ७९,५०८
तराई मधेश सदभावना पार्टी नेपाल ६२,७४६
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) ३३,९८२
कूल समानुपातिक मत - ४,९०,६४७