PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अजित मिजारको परिवारलाई दश लाख दिने मन्त्रिपरिषद्को निर्णय, यस्तो थियो हत्याकाण्ड



पहिलोपोस्ट

अजित मिजारको परिवारलाई दश लाख दिने मन्त्रिपरिषद्को निर्णय, यस्तो थियो हत्याकाण्ड

काठमाडौँ : अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई न्याय मिल्ने गरि दोषी माथि कारवाही अगाडि बढाउन मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई निर्देशन दिएको छ। 

मन्त्रिपरिषद्ले युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा हत्याबारे छानविन समिति गठन गरेको थियो। समितिको प्रतिवेदनको आधारमा मन्त्रिपरिषद्ले बिहीबार हत्याका दोषी माथि कारवाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको हो। त्यस्तै मन्त्रिपरिषद्ले उनको परिवारलाई क्षतिपूर्ती स्वरुप १० लाख उपलब्ध गराउने भएको छ भने परिवारका सदस्यको शिक्षा निशुल्क गर्ने भएको छ। 

के हो दलिज मिजार हत्याकाण्ड? 
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ६ का १८ वर्षीय अजित मिजार र सोही जिल्ला ज्यादी गाविस वडा नं ८ की कल्पना पराजुलीबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। उनीहरु सर्वमंगला उच्च माविमा ११ कक्षामा पढ्ने तयारी गर्दै थिए। 

अजित मिजारलाई दुई हप्ताभित्र विवाह गर्ने दवाव दिएपछि दुबै पक्षको सहमतिमा मिजार र पराजुलीले २०७३ असार २५ मा अन्तरजातीय प्रेम विवाह गरे। उनीहरु समाजको डरले भागेर भक्तपुरस्थित केटाको दिदीको घरमा आएर लुकेर बसे। तर केटीको माइती पक्षबाट केटा र केटाको बुवा हरिभक्त मिजारलाई ज्यान मार्ने धम्की दियो। 

विवाहपछि पनि ज्यान मार्ने धम्की आएपछि असार २७ गते प्रहरीकोमा गई केटा र केटी दुबैको विवाहका लागि उमेर नपुगेका कारण घर फर्काउने सहमति भयो। तर त्यो सहमति क्षणिक रुपमा मात्र भयो। 

अजित मिजार असार ३० गते धादिङको कुलपुर गाविसको परेवा टारमा झुण्डीएको अवस्थामा फेला परे। साउन १ गतेसम्म पनि सनाखत हुन नसकेपछि सम्बन्धित गाविसमा अनुमति लिइ पोष्टमार्टम गरी उनको लाश गाडिएको भनेर प्रहरीमार्फत् जानकारी परिवारले पायो। मृतकका परिवारले आफ्नो संस्कार अनुसार दाहसंस्कार गर्ने भनी त्यहाँ पुगे। 

परिवारका सदस्यले गाडेको ठाउँबाट लाश निकाले। तर मृतकको शरीरमा कहीँ कतै पनि चिरफार नगरेको भेटियो।  

२०७३ भदौ ५ गते सांसद दुलारी हरिजनले संसदमा हत्याको छानविन माग गरिन्। त्यसको भोलिपल्ट बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिस्तरिय छानविन समिति गठन गर्योन। 

लगत्तै काभ्रेको संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रधानमन्त्रीलाई घटनाबारे २०७३ साल भदौ ८ मा ज्ञापन पत्र बुझायो। ज्ञापन पत्र बुझे लगत्तै सोही दिन प्रधानमन्त्रीले तत्कालिन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल र गृहसचिव नारायण गोपाल मेलोगोलाई डाकेर घटनाको छानविन गर्न निर्देशन दिए। 


प्रधानमन्त्रीले हत्याको कारण र दोषी पत्ता लगाउन सह सचिवको नेतृत्वमा छानविन समिति बनाउन निर्देशन दिएका थिए। 

मिजारको परिवारले दोषी माथि कारवाही नभएसम्म शव नबुझ्ने बताएपछि मिजारको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। मन्त्रिपरिषद्को आजको बैठकले दोषीलाई कारवाही प्रक्रिया थाल्न निर्देश सहित शव परिवारलाई बुझाउन समेत निर्देशन दिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell