PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

डीपिएल : रुपन्देहीलाई हराउँदै टिम चौराह फाइनलमा, विराटनगरसँग उपाधि भिडन्त



पहिलोपोस्ट

डीपिएल : रुपन्देहीलाई हराउँदै टिम चौराह फाइनलमा, विराटनगरसँग उपाधि भिडन्त
फोटो : क्रिकेटिङ नेपाल

धनगढी : कप्तान पारस खड्काको नटआउट ६७ रन तथा उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै टिम चौराह रुपन्देहीलाई पराजित गर्दै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलको फाइनलमा प्रवेश गरेको छ। 

बिहीबार भएको दोस्रो क्वालिफयार्समा चौराहले रुपन्देहीलाई ९२ रनले हराएको हो। अब चौराहले उपाधिका लागि विराटनगर किंग्ससँग शनिबार खेल्नेछ।

राउण्ड रोविन लिगमा लगातार तीन खेल हारेपनि त्यसपछिका दुई खेल जितेको चौराह रनरेटमा कत्र्चनपुर र अत्तरियालाई पछि पार्दै प्लेअफ राउण्डमा पुगेको थियो। 

चौथो भएको चौराहले इलिमिनेटरमा तेस्रो स्थानको काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाएको थियो। प्लेअफमा स्थान बनाउने क्रममा पनि चौराहले रुपन्देहीलाई नै हराएको थियो। 

यता लिगमा ५ मध्ये ४ खेल जित्दै शीर्ष स्थानमा रहेको रुपन्देही पहिलो क्वालिफायर्समा विराटनगरसँग हारेको थियो। पुन: अर्को मौका पाएको रुपन्देहीले त्यसलाई सदुपयो गर्न नसक्दा फाइनल पुगनबाट वञ्चित भयो।

एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चौराहले कप्तान पारसको ६७ रनको मद्दतमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। 

पारसले ४१ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे। जारी प्रतियोगितामा पारस अर्धशतक बनाउने तेस्रो खेलाडी हुन् भने उनले बनाएको ६७ रन व्यक्तिगत सर्वाधिक रन हो। यस्तै राजु रिजालले २५ रन बनाए भने शौरभ खनालले ८ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा नटआउट २४ रन जोडे।
बलिङमा रुपन्देहीका कृष्ण कार्कीले २ विकेट लिए।

जवाफमा १७३ रनको लक्ष्य पछ्याएको रुपन्देही चौराहको धारिलो बलिङ सामु टिक्न सकेन र १५.२ ओभरमा ८० रनमा अलआउट भयो।

रुपन्देहीका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले समान १४ तथा पुष्प थापाले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

रुपन्देहीलाई अलआउट चौराहका ललित राजवंशी र शौरभ खनालले ३-३ तथा आरिफ शेखले २ विकेट लिए। ललितले ४ ओभरमा १२ रन मात्र खर्चेर ४ विकेट लिएका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell