PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

मधेसी दल एकता : महन्थदेखि राजकिशोरसम्म पाँच पाण्डव, अनिल झा चैँ के?



रमेश वाग्ले

मधेसी दल एकता : महन्थदेखि राजकिशोरसम्म पाँच पाण्डव, अनिल झा चैँ के?

काठमाडौँ : बिहीबार वैशाख ७ गते ६ मधेसी दलहरुले ज्योतिषले जुराएअनुसार दिउँसो तीन बजेको साइतमा एकता घोषणा गरेका छन्। एकता घोषणा लगत्तै अध्यक्ष मण्डलको तर्फबाट पहिलो वक्ताका रुपमा बोलेका राजकिशोर यादवले रोचक तर्क निकाल्दै आफूलाई पाँच पाण्डव र अहिलेका प्रमुख दललाई कौरवको संज्ञा दिए।
 
उनले कौरवले शक्ति र फौजको उन्मादमा युद्ध सुरु गरेको तर पाण्डवहरुले युद्धको अन्त्य गरेको तर्क गर्दै आफ्नो समूहलाई पाँच पाण्डवसँग तुलना समेत गरे।
 
बुद्धि र अनुभवका आधारमा सबैभन्दा माथि रहेका भन्दै कांग्रेसको राजनीतिमा खारिएका महन्थ ठाकुरलाई उनले युधिष्ठिरसँग तुलना गरे भने एमालेको राजनीतिमा लामो समय बिताएका महेन्द्र राय यादवलाई भिष्म (भीम)सँग तुलना गरे।

'हामीसँग बुद्धि विवेक र अनुभवले खारिएको युधिष्ठिर जस्तो व्यक्तित्व महन्थ ठाकुर हुनुहुन्छ,' यादवले भने, 'र हामीसँग गदाले हानिसकेपछि अरु टिक्नै नसक्ने भिष्म जस्तै पात्र महेन्द्र राय यादव पनि हुनुहुन्छ।'

राजकिशोरले कांग्रेसमा लामो समय राजनीति गरेर मधेस झरेका शरदसिंह भण्डारीलाई उनले महाभारतका पाण्डव पक्षका युद्ध कौशल व्यक्तित्व अर्जुनसँग तुलना गरे भने राजेन्द्र महतोलाई नकुलसँग।  

'हामीसँग एकदमै चतुर र बलशाली योद्धा अर्जुनजस्तै शरदसिंह भण्डारी पनि हुनुहुन्छ,' उनले थपे, '२७ वर्ष देखि सद्भावना बाहेक केही नभन्ने र सद्भावनालाई आफ्नो आमा जस्तै ठान्ने तथा काठमाडौका गल्ली गल्लीदेखि मधेसका टोलटोलसम्म पुगेर मधेस मुद्दामा मात्र लागिरहने राजेन्द्र महतो पनि हुनुहुन्छ।'

उनले पाण्डवका सबैखाले पात्र यहाँ भएको भन्दै आफूलाई सहदेवको ठाउँमा राखेका थिए।

यादवले प्रमुख दलतर्फ संकेत गर्दै राज्यले युद्ध सुरु गरेको भन्दै त्यसको अन्त्य आफूले गर्ने र युद्ध जित्ने भन्दै राजनीतिक धम्कीको भाषासमेत प्रयोग गरेका थिए। 

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्ती, तराई मधेस सद्भावना पार्टी,  उनी आफै अध्यक्ष रहेको फोरम गणतान्त्रिक गरी पाँच पार्टीको मात्र एकता हुने भन्दै त्यस्तो तुलना गरे पनि त्यसको केही घण्टामा भने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा पनि एकीकरण प्रक्रियामा सामेल हुन पुगे।

पाँच पार्टीबाट छ पार्टी एकता प्रक्रियामा पुगेपछि उनलाई पाँच पाण्डवमा अटाउने ठाउँ भएन। 

पाँच पाण्डवमै यादवले आफूलाई सहदेवको स्थानमा राखिसकेका थिए। सहदेव युधिष्ठिरसहित पाण्डव दाजुभाइका सबैभन्दा प्यारा भए पनि उनी सौतिनी भाइ थिए। त्यही स्थानमा राजकिशोरले आफूलाई राखेका थिए। तर अनिल कुमार थपिएपछि भने उनी साँच्चिकै सौतिनी सन्तानकै रुपमा रहन बाध्य भए। उनलाई पाण्डवका पात्र बनाउन दिने पाँचै भाइका लागि तुलनीय पात्र बाँकी थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell