
धनगढी : नेपाली क्रिकेट इतिहासमै अहिलेसम्मको सर्वाधिक नगद पुरस्कार राशी रहेको र अक्सन (खेलाडी लिलामी)को आधारमा टिम बनाइएको क्रिकेट प्रतियोगिता सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलको फाइनल खेल शनिबार हुँदैछ।
उपाधिका लागि पारस खड्काको कप्तानीमा रहेको टिम चौराह धनगढी र शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्स एसएसपी क्रिकेट मैदानमा भिड्नेछन्। विजेता टिमले ट्रफीसँग नगद १५ लाख पुरस्कार हात पार्नेछ।
राउण्ड रोविन लिगमा दोस्रो भएको विराटनगर पहिलो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै फाइनल पुगेको हो। यस्तै लिगमा चौथो भएको चौराहले फाइनल पुग्ने क्रममा इलिमिनेटरमा काठमाडौं गोल्डेन्स तथा दोस्रो क्वालिफायर्समा रुपन्देहीलाई नै हराएको थियो।
लिगमा सुरुवातमा लगातार तीन खेल हारेको चौराह अन्तत भाग्यमानी बन्दै प्लेअफ पुगेको थियो। लिगको अन्तिम खेलमा पनि चौराहले रुपन्देहीलाई नै पराजित गरेको हो। सुरुवाती ४ खेलमा जम्न नसकेका कप्तान पारसले त्यसयता भने उत्कृष्ट प्रदर्शन गरेका छन्।
यता लगातार ४ खेल जितेको रुपन्देही भने त्यसपछिका लगातार ३ खेल हार्दै फाइनल पुग्न असफल भयो।
चौराहका कप्तान पारस सर्वाधिक रन बनाउनेको सूचीमा समेत दोस्रो स्थानमा छन्। उनले ७ खेलबाट १४६ रन बनाएका छन्। यस्तै चौराहकै ओपनर अनिल मण्डल ७ खेलबाट १४९ रन बनाउँदै शीर्ष स्थानमा छन्।
यता अलराउण्डरको भूमिकामा खेल्दै आएका विराटनगरका कप्तान शरद १४५ रनका साथ तेस्रो स्थानमा छन्। उनले ६ खेलबाट ६ विकेट समेत लिइसकेका छन्।
सर्वाधिक विकेट लिनेको सूचीमा विराटनगरका सुशिल कँडेल १५ विकेटका साथ दोस्रव स्थानमा छन्। प्रतियोगताबाट बाहिरिसकेका रुपन्देहीका शहाब आलम १६ पहिलो तथा रुपन्देहीकै कृष्ण कार्की १३ विकेटका साथ तेस्रो स्थानमा छन्।
विराटनगरका सन्दीप लामिछाने र चौराहका ललित राजवंशीले समान ११ विकेट लिएका छन्।