PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बालुवाटार बैठकमा भयो सैद्धान्तिक सहमति, संविधान संशोधन प्रस्ताव परिमार्जन हुने



मनोज सत्याल

बालुवाटार बैठकमा भयो सैद्धान्तिक सहमति, संविधान संशोधन प्रस्ताव परिमार्जन हुने

काठमाडौँ : मधेसकेन्द्रित दलसित बालुवाटारमा भएको भएको बैठक सहमति नजिक पुगेको नेताहरुले बताएका छन्। गृहमन्त्री विमलेन्द्र निधिले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई परिमार्जन गर्नेबारे सैद्धान्तिक सहमति भएको जानकारी दिए। 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न सत्तारुढ दलहरु सहमत भएको जानकारी दिए। 

संविधान संशोधन प्रस्ताव परिमार्जनका लागि चार सदस्यीय कार्यदल बनेको छ। कार्यदलमा सत्तारुढ दलका तर्फबाट कांग्रेसका कृष्ण सिटौला र राप्रपाका बुद्धिमान तामाङ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्ण र संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन्।
 
राजपा नेता कर्णले पहिलोपोस्टसित कुरा गर्दै के के विषय परिमार्जन हुने भन्ने बारे भोलि नै टुङ्गो लाग्ने जानकारी दिए। 'उहाँहरुले परिमार्जनका लागि सैद्धान्तिक सहमति जनाउनु भयो', उनले भने। 

संशोधन प्रस्ताव पारित भएमा चुनावमा जाने पनि उनले बताए। गृहमन्त्री निधिले मधेसी मोर्चा चुनावमा आउन तयार भए निर्वाचन दुई चरणमा हुनसक्ने बताए। 

कांग्रेस नेता पौडेलका अनुसार भाषा र सिमाङ्कनको विषयमा धारा २७४ को उपधारा ४,५,६ र ७ लाई पुनः अध्ययन गरी परिमार्जन गर्न सत्तारुढ दल तयार भएका हुन्। उनले तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउन पनि सत्तारुढ दलहरु तयार भएको संकेत गरे। 

मोर्चाका तर्फबाट बोल्दै संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले आफूहरु निर्वाचनमा जान चाहे पनि सरकारले दोस्रो पटक दर्ता गरेको संविधान संशोधन प्रस्ताव पहिलेभन्दा पछि हटेर आएको भएर परिमार्जन गर्नुपर्ने माग रहेको बताए। उनले विशेष क्षेत्र र स्वायत्त क्षेत्रको नगरिएकोले संघ र प्रदेशको निर्वाचनअघि नै त्यसलाई टुङ्गो लगाउनु पर्ने र बहुभाषिक नीति राख्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिगत वेबसाइटमा आजको बैठक निकै सकारात्मक र उत्साहवर्द्धक  भएको र शनिबारसम्म ठोस सहमतिमा पुगिने भन्दै माओवादी केन्द्रका नेता शक्ति बस्नेतलाई उद्धृत गरिएको छ। 

मोर्चासित भोलि दिउँसो २ बजे पुनः बैठक हुनेछ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell