
मुस्ताङ : मुक्तिनाथ मन्दिर दर्शन गरेर जोमसोमतर्फ फर्किँदै गरेको तिर्थयात्री सवार बस दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
मृत्यु हुने ५ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको प्रहरी नायब उपरीक्षक हरिहर योगीले पहिलोपोस्टलाई बताए।
मृत्यु हुनेहरुमा काठमाडौं बागेश्वरीका कान्छी खड्का, चाँगुनारायण-८ भक्तपुरका सीता तिमल्सिना, महालक्ष्मी इमाडोल ललितपुरकी लीला खड्का, कामपा-३२ का पुरुषोत्तम ढकाल र कामपा-३५ का ५५ वर्षीय भोला अधिकारी रहेका छन्।
घाइते १५ जनालाई उपचारका लागि पोखराको मनिपाल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक हरिहर योगीले पहिलोपोस्टलाई बताए।
शनिबार बिहान मुक्तिनाथबाट सदरमुकाम जोमसोमबाट लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनीभन्दा दुई किलोमिटर अगाडि दुर्घटना भएको हो।
'यान्त्रिक गडबडी र भौगोलिक विकटताका कारण बस दुर्घटना भएको हो,' योगीले भने, 'दुर्घटनाको थप अनुसन्धान भइरहेको छ र उद्धारको क्रम जारी छ।'