PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

महानगरको पहिलो परिणाम आज आउँदै, ललितपुरको उपमेयरमा कांग्रेस निश्चित, मेयरको टुङ्गो अन्तिम १३ सय भोटले गर्ने



उमेश पौडेल

महानगरको पहिलो परिणाम आज आउँदै, ललितपुरको उपमेयरमा कांग्रेस निश्चित, मेयरको टुङ्गो अन्तिम १३ सय भोटले गर्ने

ललितपुर : पहिलो चरणको स्थानीय तहको निर्वाचन भएका चार महानगरमध्ये पहिलो महानगरले अबको केही घण्टामा मेयर र उपमेयर पाउँदैछ। 

ललितपुरको उपमेयरका नेपाली कांग्रेसका उम्मेदवार गीता सत्याल विजयी हुने निश्चित भएकी छिन्। घोषणा हुन बाँकी रहेको अवस्थामा उनी निकट प्रतिस्पर्धीभन्दा पाँच हजारभन्दा धेरैको अन्तरमा अगाडि छिन्। अब एउटा २९ नम्वरको वडामात्र मत गणना गर्न बाँकी रहेको छ जुन वडामा १३ सयमात्र मतदाता छन्। ( हेर्नुस् : ललितपुरको उपमेयरमा गीता सत्याल निश्चित, भन्छिन् - 'महिलाले राजनीति गर्नु हुँदैन भन्नेलाई जवाफ दिन्छु')

मेयरमा भने कांग्रेसका चिरिबाबु महर्जन र एमालेका हरिकृष्ण व्यञ्जनकारको मतअन्तर २९ वडाको गणना सुरु गर्नुभन्दा अगाडि साढे दुई सयको मात्र छ। 

मत गणनामा धाँधली गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा मतगणना स्थगनका लागि निवेदन दिएपछि अन्तिम अवस्थामा गणना अवरुद्ध हुन पुग्यो। तर निर्वाचन आयोगको पत्रपछि राति मतगणना पुनः सुरु भएपछि नतिजा आजै आउने निश्चित भएको हो। 

ललितपुर महानगरपालिकाको २९ वटामध्ये २९ नम्बरको वडाको मात्रै मत गन्न बाँकी रहेको अवस्थामा एमालेका मेयरका प्रत्यासी हरिकृष्ण व्यञ्जनकार सहितको टोलीले वडा नम्बर ४, ८ र ९ को मतपेटिकामा धाँधली भएको भन्दै पुन मत गणना हुनुपर्ने माग सहित प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन दिएको थियो। लगत्तै उनीहरु निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पनि उजुरी दिन पुगे।

६ वटा महानगरमध्ये निर्णायक मोडमा पुगेको ललितपुर महानगरको मेयर बन्ने होडमा रहेका नेपाली कांग्रेसका प्रत्यासी चिरिबाबु महर्जनलाई अन्तिम समयमा आएपछि दाँतमा ढुङ्गो लागेजस्तै भएको हो। व्यालेटमा खसेको मतपत्रलाई अस्वीकार गर्नु लोकतन्त्रिक अभ्यास नमान्नु सरहको भएको भन्दै चिरिबाबुले मत गणना सुचारु गर्न माग गरे। तर निर्वाचन आयोगमा उजुरी परिसकेपछि त्यसको फैसला सर्वदलीय बैठकको निर्णयले मात्र टुङ्ग्याउनुपर्ने एमालेले माग गरेको छ।

ललितपुर महानगरको पछिल्लो २८ वडासम्मको गणना अनुसार एमाले र कांग्रेसबीच करिब दुई सय ५० भोटको मात्र अन्तर भएका कारण एमालेले जित आफ्नो पक्षमा पर्नका लागि मत गणना स्थगितको 'हत्कण्डा अपनाएको' कांग्रेसले आरोप लगाएको छ।

त्यस्तै एमालेले निर्वाचन आयोगका कर्मचारी सुरेश थापाले एमालेको भोट तलमाथि गरेको आरोप लगाउँदै विरोध जनाएपछि मतगणना अवरुद्ध बनेको थियो। यो कुरा थाहा पाएपछि निर्वाचन आयोगले तत्काल थापालाई मतगणनास्थलबाट निकालिदिएको थियो। तर, पछि ती कर्मचारी फेरि मतगणनास्थलमा प्रवेश गरेपछि विवादले झन चर्को रुप लिएको थियो।

ललितपुरको मतगणनास्थल बाहिर सबै पार्टीका समर्थकले केही समय नाराबाजी गरे। नेपाली कंग्रेसका समर्थकले मतगणना सुचारु गर्नुपर्ने माग गरे भने एमालेका कार्यकर्ताले तीन वटा वडाको मत पुन: गणना गर्नुपर्ने भन्दै नारावाजी गरिरहे। प्रहरीले स्थिति असामान्य हुन नदिनका लागि मतगणना स्थल वरिपरीबाट सबै पार्टीका प्रतिनिधिलाई गेट बाहिर राखे।

कसले जित्ला वडा नम्बर २९

ललितपुरमा कुल ८७ हजार ६ सय ८१ मत खसेको थियो। २९ नम्बर वडासम्म आइपुग्दा ८६ हजार तीनसय ८१ मत गणना भइसकेको छ। १३ सय मत गणना गर्न बाँकी रहँदा मत गणना स्थगितसम्मको अवस्थामा पुगेको थियो।

दुवै उम्मेद्वारले अब मत गणना बाँकी रहेको वडा नं २९ मा आ-आफ्नो पकड रहेको दावी गरेका छन्। २८ नम्बर वडा एमाओवादी केन्द्रले जितेको छ भने उसले २९ नम्बरमा पनि आफ्नो दावेदारी छाडेको छैन। त्यस्तै एमालेले पनि हरिसिद्धि एरिया कम्युनिस्टको किल्ला रहेको भन्दै त्यसमा आफ्नो पक्षमा भोट खस्ने भन्दै जित सुनिश्चित भएको दावी गरेको छ।

नेपाली कांग्रेसले भने सो क्षेत्रमा आफ्नो केही कमजोरी रहेको स्वकारेको छ। उसले एमाओवादीका उम्मेद्वारले जित्ने भएका कारण एमालेको भोट काटिने र करिब २ सय ५० मतान्तर रहेकोबाट नै जित सुनिश्चित बन्ने अपेक्षा गरेको छ। 

यसअघिका कम्युनिस्टको पकड मानिएका धेरै वडा र कांग्रेसको पकड मानिएका धेरै वडामा वडा अध्यक्षलाई अपेक्षाभन्दा फरक मत परेको छ। मेयरका लागि पनि वडाध्यक्षमा खसेको मतभन्दा उल्टोगरी भोट परेका कारण १३ सय भोटले कसको भाग्य चम्काउने भन्नेमा कोही पनि ढुक्क हुने अवस्थामा पुगेका छैनन्। 

तर, मेयरमा दुवै उम्मेद्वार आआफ्नो वडामा पराजित भएका कारण नतिजा कसको पोल्टामा पर्ने हो त्यसको टुङ्गो लाग्न अन्तिमसम्म नै कुर्नुपर्ने देखिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell