PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

दोस्रो चरणको निर्वाचन जेठ ३१ मा ?



मनोज सत्याल

दोस्रो चरणको निर्वाचन जेठ ३१ मा ?
फोटो : दीपेन श्रेष्ठ

काठमाडौँ : आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सत्तारुढ दलहरुबीच शनिबार बालुवाटारमा भएको 'ब्रेकथ्रु' वार्तामा दुई चरणमा निर्वाचन गर्ने सहमति भएको छ। 

सहमति अनुसार यसअघि घोषित वैशाख ३१ गतेको मितिमा मतदान जारी रहनेछ भने सो दिन मतदान नहुने ठाउँका लागि अर्कै मितिमा चुनाव हुनेछ।

बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन गर्ने सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए। दोस्रो चरणमा भने प्रदेश नम्बर २ सहित  १, ५ र ७ मा निर्वाचन हुनेछ। 

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जेठ ३१ गते अर्को चरणको निर्वाचन हुने बताए। नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले भने जेठको अन्तिम सातामा निर्वाचन हुने जानकारी दिए।

कांग्रेस नेता तथा मन्त्री रमेश लेखकका अनुसार दोस्रो चरणको निर्वाचनको मिति निर्वाचन आयोगसँगको परामर्शपछि तोकिनेछ।

पूर्वघोषित निर्वाचनको कार्यक्रम अनुसार वैशाख १६ गते उम्मेदवारको मनोनयन दर्ता. १८ गते नामावली प्रकाशन, १९ गते अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान र ३१ गते मतदान रहेको छ।

यदि दोस्रो चरणमा निर्वाचनको मिति घोषणा भए निर्वाचनको कार्यक्रम पनि त्यही अनुसार परिमार्जन हुनेछ।

अरु के-केमा सहमति?

त्यसैगरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन परिमार्जन गर्ने पनि सहमति भएको छ। यसबारे गृहकार्य सरकारले भोलि गर्नेछ। 

योसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरिरहेको आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने पनि सहमति भएको उनले बताए। 

संविधान संशोधन प्रस्ताव परिमार्जनका विषयमा भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ। त्यसैगरी मोर्चाले भोलि नै संघीय गठबन्धनसहित बैठक बसी वैशाख ३ देखि घोषणा गरिएको निर्वाचन बिथोल्ने कार्यक्रमसहितको आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको घोषणा गर्नेछ। 

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्ले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास गर्ने बित्तिकै आफूहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिई निर्वाचनमा जाने बताए। 


   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell