
लखनउ : उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षा बढाइएको छ। आतंकवादीको निशानामा योगी आदित्यनाथ परेको गुप्तचर रिपोर्टका आधारमा उनको सुरक्षा बढाइएको हो।
सुरक्षा निकायले सार्वजनिक स्थानमा नै योगीमाथि आक्रमणको तयारी भएकाले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। करिब दुई दर्जन आतंकवादीहरु यसका लागि परिचालन भएको सुरक्षास्रोतको दावी छ। पाकिस्तानमा तालिम पाएका आइएसआइ नेपाल हुँदै उत्तर प्रदेश छिरिसकेको उनीहरुको दावी छ।
उत्तर प्रदेशका डिजिपी सुलखान सिंहले पत्रकारहरुलाई जस्तोसुकै परिस्थिति सामनाका लागि प्रहरी तयार रहेको जानकारी दिए।
मध्य प्रदेशका प्रहरीले उत्तर प्रदेशका मुख्यमन्त्री असुरक्षित रहेको रिपोर्ट उपलब्ध गराएपछि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। यो अलर्ट लगत्तै मुख्यमन्त्रीलाई जतिखेर पनि क्विक रियाक्सन टिमले स्कर्टिङ थालेको छ। उनलाई सुरक्षाकर्मीले खानतलासी नगरिएका व्यक्तिसँग भेट नगर्न भनिएको छ। साथै उनको निवासमा पनि कडा सुरक्षा प्रवन्ध मिलाइएको छ। उनको दैनिक हुने जनता दर्शन कार्यक्रममा पनि सुरक्षा स्क्रिनिङ नभएका व्यक्ति प्रवेश गर्न नपाउने छन्।
'मुख्यमन्त्रीसम्म पुग्न आतंकवादीहरुले स्थानीयको लबज सिकेका छन् भने गायत्री मन्त्रसमेत घोकेका छन्,' एक वरिष्ठ प्रहरी अधिकृतले जनाकारी दिए। आइएसआइएस भनेर उत्तर प्रदेशमा केही समय अघि पक्राउ परेकाहरु कट्टर हिन्दुहरुको घरमा डेरा गरी बसेको प्रहरीले जनाएको छ।
धार्मिक क्षेत्रहरु जस्तै अयोध्या, काशी, मथुरासहित विमानस्थल र रेलवे स्टेसनमा सुरक्षा कडा पारिएको छ। गोरखनाथ मन्दिरको सुरक्षा निगरानी थप गरिएको छ।