
काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा पनि नयाँ मतपत्र छपाइ र दल दर्ताको समय दिन नसकिने बताएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मधेसी गठबन्धन र निर्वाचन आयोगका पदाधिकारीबीचको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दल दर्ताको समय दिन नसकिने स्पस्ट पारेका हुन्।
प्रमुख आयुक्त यादवले मतपत्र छपाइको नयाँ प्रक्रिया पनि सुरु गर्न नसकिने बैठकमा बताएका छन्। बैठकपछि यादवले भने ‘अव मतपत्र छपाइ र दल दर्ताको प्रक्रिया सुरु गर्न सकिन्न। दोस्रो चरणको निर्वाचनका अन्य कामका लागि आयोग तयार छ।’
बैठकमा प्रधानमन्त्रीले दल दोस्रो चरणको निर्वाचनको आवश्यक प्राविधिक व्यवस्थापनमा बीचको बाटो खोज्न आयोग पदाधिकारीलाई आग्रह गरेका थिए। प्रधानमन्त्रीको आग्रहमा आयोग पदाधिकारीले बीचको बाटो सरकारबाटै प्राप्त भए सहज हुने जवाफ दिएका थिए।
प्रधानमन्त्रीले गठबन्धनसँग भएको सहमति अनुसार चुनावमा उत्साह थपिएको भन्दै सकेसम्म सवै पक्षलाई समेट्ने गरी निर्वाचन तयारीका लागि निर्देशन दिएका थिए।
बैठकले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति बैशाख १६ गतेलाई बैशाख १८ मा सार्ने, निर्वाचन आयोगको आफ्नो अन्य तयारीलाई यथावत् राख्ने निर्णय गरेको छ।
जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्थाले निर्वाचन आचारसंहिता आकर्षित हुने भएकाले बजेटलाई केही समय पर सार्ने विषयमा पनि कुराकानी भएको छ। आयोग पदाधिकारीले आचारसंहिता लागू भएको अवस्थामा चुनावपछि निर्वाचन सान्दर्भिक नहुँनेमा बैठकमा सचेत गराएका छन्।
आयोग पदाधिकारीसँगको छलफलपूर्व सरकार र संघीय गठबन्धनमा आवद्ध दलहरुबीच छलफल भएको थियो । सरकार र गठबन्धनबीचको बैठकले संविधान संशोधन र निर्वाचनबारे गरिएको सहमति महत्वपूर्ण भएको निष्कर्ष निकाल्दै केही दिन भित्रै राष्ट्रिय सहमतिको दस्तावेज बनाएर हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ।