
एसएस राजमौलीको बाहुबली : दी कन्क्लुजन भारतीय फिल्म उद्योगको अहिलेसम्मकै सबैभन्दा चर्चित प्रोडक्सन बन्दैछ। फिल्मले रिलिजपूर्व ५ सय करोडको डिल गरिसकेको छ र आगामी २८ अप्रिलमा मात्रै यसले ८५ करोडको ओपनिङ व्यापार गर्ने प्रक्षेपण गरिएको छ।
एक वितरकलाई उदृत गर्दै भारतीय मिडियामा आएको छ, 'बाहुबली २ भयंकर हुनेछ र यसले सबैको अपेक्षाहरुलाई पार गराउनेछ। अग्रिम बुकिङ सुरु नभइ ठोकुवा गर्न नसकिए पनि यसले रिलिजको दिन ८५ करोड प्लसको ग्रस कलेक्सन गर्नेछ। यो फिल्म तेलगुमा सुट गरिएको छ जुन आफैमा ठूलो मार्केट हो। यसको क्रेज हैदरावादमा पनि उत्तिकै छ, बाहुबलीले यहाँबाटमात्रै २५ देखि २७ करोड कलेक्ट गर्नेछ। तेलगु भर्सनबाट मात्र फिल्मले ३५ करोड कलेक्सन गर्नेछ।'
फिल्मले अहिलेसम्मको रिलिज रेकर्ड ब्रेक गर्दै भारतका ६ हजार स्क्रिनमा एकैसाथ चल्दैछ। २०१५ मा रिलिज हुँदा यो फिल्म ४ हजार हलमा लागेको थियो।
फिल्मको हिन्दी डब भर्सनलेमात्रै २४-२५ करोड कलेक्सन गर्ने अपेक्षा गरिएको छ। हिन्दीको ग्रस ३३ करोडसम्म हुने अपेक्षा छ। तामिल, मलायलम र कन्नड भर्सनबाट २० देखि २२ करोड कलेक्सनको अपेक्षा गरिएको छ। यस आधारमा फिल्मले ८५ देखि ९० करोड एकै दिन उठाउने छ। यो भारतको सबैभन्दा ठूलो ओपनिङ हुनेछ।
बाहुबली दी विगिनिङले ओपनिङमा ७५ करोड कलेक्सन गरेको थियो भने ६ सय ५० करोड ग्रस कलेक्सन गर्न सफल भएको थियो। यो पदचापलाई पछ्याउने हो भने फिल्मले सिनेमाघरबाटमात्रै ७ सय ५० करोड कलेक्सन गर्नेछ। यसमा प्रि रिलिजको ५ सय करोड जोड्ने हो भने बक्स अफिसमा १ हजार करोड कलेक्सन गर्ने यो भारतको पहिलो फिल्म बन्ने छ।