
पथरी : घरकै छेउमा विद्यालय छ। तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन्।
गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन्।
मोरङको बाहुनी सोमबारेकी अन्जना ऋषिदेव १० वर्ष पुगिन। तर उनले विद्यालय देखेकी छैनन्। उनी भन्छिन् ‘बुबा आमा पञ्जाब जानुभएको छ। पाँचवर्ष भयो, म र दिदी हजुरआमासँग बस्छौँ। हजुरआमाले सधैँ काममा पठाउने गरेकाले विद्यालय जाँदैनाँै।’
अर्की देवकुमारी ऋषिदेव विद्यालयमा भर्ना भएकी छन्। तर, फुर्सदमा मात्र स्कुल जान पाउछिन्। बुबाआमा नै पञ्जाब गएपछि उनको पनि बुढी भएकी हजुरआमालाई घरायसी काम सघाउँदै दिन बित्ने गर्छ।
अझ कञ्चन ऋषिदेवका बुबा खटनाले त आमालाई मात्र होइन दाजुभाइलाई पनि पञ्जाब लगेका छन्। छोरी जति हामी घरमा छौँ कञ्चनकी दिदी राधिकाले भनिन् ‘हजुरआमा बुढी र बिरामी हुनुहुन्छ, बुबाले हामी तीनजनालाई छोडेर गएको पाँच वर्ष भयो। कहिलेकाहीँ फोन गर्नुहुन्छ । खर्च पठाउनु हुन्न।’
उनले बाबुको ब्यबहारप्रति दुःख प्रकट गरिन। बनौल र सोमबारे क्षेत्रका बालिकाको दिन नै गुइँठा बनाउने तथा झिँझा र गोबर खोज्दै बित्ने गर्छ।
बनौल र सोमबारे क्षेत्रका अल्पसङ्ख्यक सीमान्तकृत मुसहर जातिमा स्वास्थ्यसम्बन्धी चेतना झनै शून्य छ। प्रत्येक युवाका सरदर पाँचजना छोरी छन्।
माटो काट्ने, पुर्ने, बाँध बाँध्ने र कृषिसम्बन्धी परम्परागत पेसा सङ्कटमा पर्दै गएपछि उनीहरू पछिल्लो १० वर्षयता भारतको पञ्जाब र हरियाणामा काम गर्न जाने गर्छन। यही हप्ता पञ्जाब जाने तयारी गरिरहेका बुधन ऋषिदेवले भने ‘आफ्नो माटो छैन, परिवार ठूलो भयो, खान लगाउन दिनै पर्यो।’ रासस