
काठमाडौं: नेपथ्यको हाक्पारे भाकाको गीतका लागि शब्द संकलन गरेका डेल्ली दमाईको निधन भएको छ। आइतबार राती ११:०० बजे संखुवासभा चैनपुस्थित घरमा उनको निधन भएको हो।
डेल्ली दमको समस्याका कारण एक महिना अघिबाट थल्लिएका थिए। गत साउन ७ गुरु पुर्णिमाका दिन गते सांगीतिक समुह नेपथ्यले ब्याण्डको नयाँ गीत सार्वजनिक गर्यो । पूर्वी नेपालमा गाइँने हाक्पारे भाकाको 'कोशीको पानी यो जिन्दगानी' बोलको गीत ब्याण्डको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको थियो। हाक्पारे जस्तो परम्परागत भाकाको गीतालाई नेपथ्यले आफ्नै आधुनिक संगीत दियो।
ब्याण्डले गरेको फरक प्रयास केहि हदसम्म सफल भयो। सफल यो मानेमा, गीतले हालसम्म सात लाख बढी हिट्स बटुली सकेको छ। गीत धेरैपटक त हेरियो। नेपथ्यको गीत भनेर चर्चामा पनि रह्यो तर गीत कसले लेखेको हो, गीत को स्रोत को हो भन्ने विषयको खोजी हुनुपर्ने जति भएन। नेपथ्यका गायक अमृत गुरुङ स्वयंमले आफ्नो गुरुको रुपमा चिनाए डेल्लि दमाईलाई।
डेल्लीका छिमेकी सुसन उदासले पहिलोपोस्टसँग भने,’हजुरबुबा त अमृत दाइले मात्र होइन राजा महेन्द्रले पनि चिन्नु भएको मान्छे हुन्। २०१६ ताका बाको गीत मन पराएर ३१,००० दिएका थिए रे।‘ डेल्ली परम्परागत लोकभाका र गीत, संगीतमा सक्रिय थिए। उनले आफ्ना हजुरबुबा उजिरे दमाईबाट लोकभाका र लयहरु सिकेको बताउने सुसनले बताए।