
काठमाडौं : नेपालमा पहिलो पटक बक्सिङको च्याम्प अफ च्याम्पियन्स आयोजना हुने भएको छ। नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।
कूल १६ खेलाडीको सहभागिता रहने च्याम्प अफ च्याम्पियन्स ४ चरणमा खेलाइनेछ। पहिलो चरणको खेल जेठ ४ र ५ गते रंगशालाको कबर्डहलमा हुने तथा दोस्रो चरणको खेल त्यसको डेढ महिनापछि हुने आयोजक म्याक्स बक्सिङमा सिइओ तथा प्रतियोगिताको संयोजक म्याक्स बस्नेतले बताए।
१६ मध्ये ४ खेलाडीले नाम विथड्र गरेका कारण विपक्षी खेलाडीले बाइ पाउने उनले बताए।
यस्तै पहिलो चरणपछि दोस्रो चरणमा ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। तेस्रो चरणामा ४ तथा फाइनलमा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने बस्नेतले जानकारी दिए। फाइनल खेल अक्टोबरमा हुनेछ।
खेलहरु प्रो बक्सिङ लाइटवेट ६१ केजी अन्तर्गत हुनेछ।
च्याम्प अफ च्याम्पियन्सको विजेताले नगद २ लाख पुरस्कार हात पार्नेछन्। दोस्रो हुनेले ३० तथा तेस्रो हुनेले १० हजार पाउनेछन्।
यस्तै प्रतियोगिताको च्याम्पियन बक्सरले डब्लुबीसी एसिया र डब्लुबीसी को लागि प्रो बक्सिङ लाइसेन्स समेत पाउने संयोजक बस्नेतले बताए।
राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा विभिन्न जिल्लाबाट आफैँले १६ खेलाडी छनौट गरेको बस्नेतले जानकारी दिए।
आयोजकले नेपाली बक्सिङ इतिहासमै यस्तो खालको प्रतियोगिता पहिलो पटक हुन लागेको र नेपाली बक्सिङको विकासका लागि यसले पनि मद्दत पुग्ने बताएको छ।