PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

दक्षिणा शाहीलाई हङकङको अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण



पहिलोपोस्ट

दक्षिणा शाहीलाई हङकङको अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण

काठमाडौं : दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण पदक दिलाएकी छिन्। हङकङस्थित काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, चार रजत र ६ कास्य गरी कुल ११ पदक हात पार्‌यो। 

महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउदै स्वर्ण जितीन्। दक्षिणासहित नेपालका चार खेलाडीले फाइनल यात्रा तय गरेपनि ३ खेलाडीले स्वर्ण जित्न सकेनन्।

क्याडेट २९ केजीमुनि सुप्रीमा बजगाई सडेन डेथमा मंगोलियाकी खेलाडीसँग स्तब्ध भइन्। निर्धारित तीन राउन्डको खेल ७–७ स्कोरमा बराबरी भएपछि खेलिएको सडेन डेथमा हार बेहोर्दै सुप्रीमाले रजतमै चित्त बुझाइन्।

पुरुष सिनियर ७४ केजीमुनिको फाइनलमा विकेस बिडारीले सुरुआती अग्रताका बाबजुत समालिन नसक्दा ६–४ स्कोरले हार बेहोरे। यस्तै महिलातर्फ सिनियर ६२ केजीमुनि लक्ष्मी घले र पुरुष क्याडेट ४५ केजीमुनि सुजन गुरुङ फाइनलमा पराजित भए।

पुरुषतर्फ ५८ केजीमुनि मिसन रासकोटी, ६८ केजीमुनि आकाश पुन, क्याडेट ४५ केजीमुनि सागर तङ्नामी, ६३ केजीमुनि अमृत थापा र ५४ केजीमुनि प्रकाश थापा तथा महिलातर्फ सुमित्रा खत्रीले ७४ केजीमाथी ले कास्य पदक जिते। 

अप्रिल २२ देखि २५ सम्म भएको उक्त च्याम्पियनसिपमा तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा ग्रेडिङ प्रमुख नोर्बु लामाले निर्णायक भूमिका निर्वाह गरे। 

हङकङ, ताइवान, मकाउ, चीन, मंगोलिया, सिंगापुर, नेपाल, इन्डोनेसिया, फिलिपिन्स, कोरियालगायतका राष्ट्रबाट २१ टोलीका एक हजारभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालबाट १३ खेलाडी सहभागी भएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell