
मुस्ताङ : हिमालपारिको जिल्ला मुस्ताङमा बर्सेनि दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ। कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।
पछिल्लो समय एक महिनाअघि चैत १२ गते मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तपुरका रामकृष्ण खत्रीको ज्यान गएको थियो। गत असोजमा दोलखाका राजाराम तामाङको ज्यान गएको प्रहरीको तथ्याङ्कमा छ। दुवैजना मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा अचानाक बेहोस भएर अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।
मुस्ताङका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले उच्च क्षेत्रमा जाँदा आवश्यक सावधानी नअपनाउँदा पर्यटकले ज्यान गुमाउने गरेको बताए। ‘पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा लेक लागेर ज्यान गुमाउनेको संख्या विदेशी पर्यटक र नेपाली पर्यटक बराबर नै छन्’ उनले भने।
मुक्तिनाथ क्षेत्रका स्थानीयवासीले मुक्तिनाथ स्वास्थ्यचौकीमा अक्सिजनको व्यवस्था गर्न माग गरेका छन्। गाउँमुखिया सुरज गुरुङले स्वास्थ्यचौकीमा अक्सिजन नहुँदा मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकले अकालमा ज्यान गुमाउनु परेको बताए।
धार्मिकस्थल मुक्तिनाथसहित कागबेनी, दामोदरकुण्डलगायत मुस्ताङको प्राकृतिक सुन्दरताका कारण बर्से्नि हजारौँ पर्यटक दर्शन र भ्रमणका लागि आउने गरेका छन्। एक वर्षमा मुस्ताङमा ४० हजारभन्दा बढी बाह्य पर्यटक भ्रमणका लागि भित्रिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ। रासस