
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका छन्। समसामयिक राजनीतिक अवस्थाका विषयमा राष्ट्रध्यक्षलाई जानकारी दिन प्रधानमन्त्री दाहाल राष्ट्रपति कार्यालय सीतल निवास पुगेका हुन्।
'राष्ट्रपतिज्युसँग समसामयिक विषयमा ब्रिफिङ भएको छ,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, 'नियमित ब्रिफिङ भएकाले त्यस्तो उल्लेखनीय केही कुरा भएको छैन।'
उनले भेटवार्ता सरकार प्रमुखले राष्ट्रप्रमुखलाई भेट्ने नियमितता नै भएको बताए। 'समसामयिक विषयमा सामान्य कुराकानी उहाँहरुबीच भएको छ,' आचार्यले भने।
संविधान संशोधन गरेर निर्वाचनमा जान मधेश केन्द्रित दललाई सहमत गराएका बेला प्रमुख प्रतिपक्षी दलको संसद् अवरोधले प्रधानमन्त्री अफ्ठेरोमा छन्। स्रोतका असार त्यही विषय प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीलाई अबगत गराएका छन्।
राष्ट्रपति भण्डारीले भने संविधान कार्यान्वयन नहुँदासम्म दलीय सहमति महत्वपूर्ण रहेको भन्दै निर्वाचनमा जान र सविधान सशोधन गर्न प्रमुख दल र मोर्चालाई एकसाथ लिएर जान सुझाव दिएकी छिन्।
फोटो : गोविन्द आचार्यको फेसबुक