
काठमाडौँ : तराईका ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने विषयलाई लिएर सरकारले गरेको परिपत्रप्रति एमाले आक्रमक देखिएको छ। उसले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको जवाफका बावजुद दोश्रो दिन पनि संसद् बैठक अवरोध गरिरहेको छ।
तर, अवरोध खुलाउन बसेको शीर्ष नेताको बैठकमा भने विवाद भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा भनाभन भएको हो।
संसदको अवरोधबाट आक्रोशित बनेका कांग्रेस सभापति देउवाले – तपाईंहरुले निर्वाचन गर्न नचाहेको हो? भन्दै ओलीलाई प्रश्न गरेका हुन्।
लगत्तै ओलीले – तपाईंहरुले निर्वाचन नगराउन खोजेको हो? भन्दै प्रतिप्रश्न गरे। होइन भने अहिले संख्या किन बढाउनुपर्यो? भन्दै जवाफ फर्काएका हुन्।
देउवाले स्थानीय तहको संख्याको अडानमा एमालेले संविधान संशोधन रोकेको आरोप लगाएका थिए। जवाफमा ओलीले – संविधान संशोधन पारित हुन नदिने बताएका थिए।
जवाफमा देउवाले दुई तिहाई पुर्याएर देखाइदिने बताए।
दलहरुबीच स्थानीय तहको संख्यामा विवाद हुँदा संसदमा संशोधन विधेयक पेश हुन सकेको छैन।
एक नेताका अनुसार ओलीले अहिले तराईका जिल्लामा मापदण्ड संशोधन गरेर सयभन्दा धेरै स्थानीय तह थप्न लागिएकोमा विरोध जनाएका हुन्।
कांग्रेसले भने स्थानीय तहको कारण देखाएर संविधान संशोधन र निर्वाचन एमालेले रोक्न खोजेको आरोप लगाएको छ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले भने तराईका ११ जिल्लामा मात्र नभइ १९ जिल्लामा नै स्थानीय तहको संख्या थप्ने प्रस्ताव गरेका छन्।
मंगलबार एमालेको अवरोधले नबसेको संसदमा बुधबार बिहानै उपप्रधानमन्त्री थापाले जवाफ दिएका थिए। तर एमालेले जवाफ चित्त नबुझेको भन्दै बैठकमा अवरोध जारी राखेको थियो। एमालेले स्थानीय तहको संख्या बढाउने प्रस्तावको विरोध जनाएको छ।