
गौशाला (महोत्तरी) : बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेका बिरामीको सङ्ख्यामा अप्रत्याशितरुपमा वृद्धि भएको छ।
पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक/दुईजना कुकुरले टोकेको बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक आठ/दस जना कुकुरले टोकेको बिरामी आउने गरेको चिकित्सकले जनाएका छन्।
अहिले बढ्दो गर्मीसँगै कुकुरको मानसिक अवस्था बिग्रिने गरेकाले गर्मीको मौसममा कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेको कारण अहिले जिल्ला अस्पतालमा दैनिक कुकुरले टोकेका बिरामीको चाप बढ्ने गरेको वरिष्ठ मेडिकल अधिकृत डा द्वारिकाप्रसाद साहले बताए।
तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ मेडिकल अधिकृत डा साहले बताए।
उनले कुकुरले टोकेका बिरामीका लागि दैनिकरुपमा छुट्टै चिकित्सक टोलीको व्यवस्था गरेर बिरामीलाई सेवा दिइने गरिएको बताए।
कुकुरले टोकेका प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीन देखि पाँच भाइल (डोज) सम्म भ्याक्सिन दिनुपरेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ। रासस