रत्ननगर (चितवन) : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा बाह्रसिङ्गेलाई आज बिहान चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ।
आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर ब्लकमा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। 'राति २ बजे ल्याइपुर्याइयो, आज बिहान मात्रै छाडियो', कँडेलले भने, 'अर्ना राखिएको क्षेत्रमै छाडिएको छ।'
सरकारी निर्णयअनुसार वंश संरक्षण र विस्तारका लागि चितवन निकुञ्जमा यसरी पहिलो चरणमा दुईवटा पोथी बाह्रसिङ्गे ल्याइएको हो। अझै २३ वटा ल्याइने निकुञ्जले जनाएको छ।
चितवनबाट शुक्लाफाँटा पुगेका प्राविधिक टोलीले बुधबार बाह्रसिङ्गेलाई जालमा पारेर समाएको थियो। निश्चित क्षेत्रमा विशेष प्रकारको जाल (खाबर) बिच्छ्याइएको र जालमा परेपछि लठ्याउने औषधि दिएर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।
निर्वाचनका लागि कर्मचारी नखटाउँदासम्म बाह्रसिङ्गे ल्याउने काम जारी रहने चितवन निकुञ्जले जनाएको छ। विसं २०७१ को सरकारी निर्णयअनुसार चितवनमा पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याइनेछ।
यसअघि कोसीटप्पु र चिडियाघरबाट गरी १५ वटा अर्ना चितवन निकुञ्जमा ल्याइसकिएको छ। बाह्रसिङ्गे नियन्त्रणमा लिन चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिक गरी ३० जनाको टोली खटिएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा सन् १९६० को दशकमा अर्ना रहेको इतिहास भएपनि निकुञ्ज स्थापनापछि यहाँ बाह्रसिङ्गे र अर्ना नभएको निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामपृत यादवले बताए।