
काठमाडौँ : संसदमा रहेको संविधान संशोधन विधेयक पारित गर्न सहयोगका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आव्हान गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले दिउँसो ३ बजे बालुवाटारमा सर्वदलीय बैठक राखेका हुन्।
संसदमा सैद्धान्तिक छलफल पछि स्वीकृत भएको संविधान संशोधन विधेयक १७ गतेको संसद बैठकबाटै पारित गर्ने तयारी सरकारको छ। संविधान संशोधनका लागि दुई तिहाई आवश्यक हुने भएपनि संशोधनको पक्षमा खुलेरै दुई तिहाई पुगेको छैन।
एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धन अहिलेसम्म संशोधनको विपक्षमा छ। उसले संशोधन माथि साझा र छुट्टाछुट्टै संशोधन राख्ने जनाएको छ।
एमाले लगायतका दलहरुले १७ गतेको बैठकमा अनिवार्य उपस्थितिका लागि आफ्ना सांसदहरुलाई सूचना जारी गरि सकेका छन्। गठबन्धनले संशोधनमा दुई तिहाई पुग्न नदिने जनाएको छ।
प्रतिपक्षी गठबन्धनको सिंहदरबारमा बिहीबार बसेको बैठक
सत्तारुढ दलहरुले पनि आफ्ना सांसदलाई टाढाका कार्यक्रममा नजान र सम्पर्कमा रहन निर्देशन दिईसकेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि आवश्यक दुई तिहाई पुर्याएर देखाइदिने यसअघि नै बताइसकेका छन्।
त्यस्तै बैठकमा प्रधानमन्त्री प्रचण्डले दलहरुलाई निर्वाचनमा जुट्न र दुई चरणमा निर्वाचन हुन लागेको जानकारी समेत गराउँदैछन्। सरकारले बैशाख ३१ मा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणाबाट पछाडी हटेर जेठ ३१ मा अर्को चरणको निर्वाचन तय गरिसकेको छ।