PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

स्थानीय चुनावमा लमजुङका आधा दर्जन पत्रकार आकांक्षी



रासस

स्थानीय चुनावमा लमजुङका आधा दर्जन पत्रकार आकांक्षी

लमजुङ : स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि उम्मेद्वार बन्ने प्रतिष्पर्धामा लागेका छन्। लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकारहरु आकांक्षी देखिएका हुन्। 

प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवम् लमजुङ आवाज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिकाअन्तर्गत वडा नं ८ बाट अध्यक्षका लागि कांग्रेसबाट दाबेदारी प्रस्तुत गरेका छन्। 

नेपाल प्रेस युनियनका अध्यक्ष एवम् नेपाल टेलिभिजनका लमजुङ प्रतिनिधि परमेश्वर अधिकारीले नेपाली काँग्रेसबाट सुन्दरबजार नगरपालिकाको मेयर पदमा आकांक्षा देखाएका छन्। उनले पार्टीमा आन्तरिक उम्मेदवारीसमेत दिएका छन्। 

यस्तै, प्रेस युनियनका अर्का सदस्य एवम् अन्नपूर्ण पोष्ट दैनिकका लमजुङ समाचारदाता दीपक अधिकारीले दोर्दी गाउँपालिका–१ को वडा सदस्यमा टिकट पाएका छन्। अधिकारीले वडा सदस्य जितेर जिल्ला समन्वय समितिमा आउने दाबी गरेका छन्। 

माओवादीको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलले दोर्दी गाउँपालिकाको प्रमुख पदको उम्मेदवारमा आकांक्षा देखाएका छन्। पौडेल हाल जिल्लास्थित रेडियो भोटेओडारको निर्देशक र मूलखबर अनलाइनमा आबद्ध छन्। 

प्रेस सेन्टरका जिल्ला अध्यक्ष रुद्रहरि ढकालले पनि स्थानीय तह निर्वाचनमा सुन्दरबजार नगरपालिका–८ को वडाध्यक्ष पदको उम्मेदवार बन्न पार्टीमा लबिङमा छन्। उनी जिल्लास्थित रेडियो भोटेओडारको व्यवस्थापक हुन्। 

परिवर्तन सन्देश पत्रिकाका सम्पादक नारायण पौडेलले राइनास नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारीमा छन्। उनले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी गरेका हुन्। सोही पत्रिकाका कार्यकारी सम्पादक एवम् प्रेस सोसाइटी लमजुङका जिल्ला अध्यक्ष वासुदेव थापाले मस्र्याङ्दी गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी घोषणा गरेका छन्। 

यस्तै, पत्रकार महासङ्घ लमजुङका पूर्वअध्यक्ष एवम् ‘लमजुङ दर्पण’ दैनिकका सम्पादक कृष्ण केसीले नेकपा (एमाले)बाट बेसीसहर नगरापालिकाको प्रमुख पदका लागि आकांक्षा देखाएका छन्। तर पार्टीले सिफारिस नगर्ने भएपछि उनले उम्मेदवारी फिर्ता लिएका छन्। 

आन्तरिक रुपमा दलका बैठक र कार्यक्रममा आकांक्षा व्यक्त गर्दै उम्मेदवारी दिए पनि उम्मेदवार टुङ्गो भने कुनै पनि दलले लगाएका छैनन्। दलहरुलाई उम्मेदवार चुन्न सकस भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell