
भारतीय टिमका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोएल च्यालेन्जर्स बैंगलोरले आइपीएलमा छैटौँ हार बेहोरेको छ।
बिहिबार भएको खेलमा गुजरात लायन्ससँग ७ विकेटले पराजित भएपछि बैंगलोरको शीर्ष चारमा रहदै प्लेअफ पुग्ने सम्भावना समेत कठिन बनेको छ।
९ खेल खेलिसक्दा २ खेलमा मात्र जित हात पारेको बैंगलोर ५ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। हैदरावदसँगको खेल वर्षाले रद्ध भएपछि बैंगलोरले अंक बाँडेको थियो।
तेस्रो जितपछि ८ खेलबाट ६ अंक जोडेको गुजरात भने छैटौँ स्थानमा उक्लेको छ। ६ खेलबाट ४ अंक मात्र रहेको दिल्ली पुछारमा छ।
गुजरातलाई बैंगलोर विरुद्ध जित दिलाउन दुई अष्ट्रेलियन खेलाडी आरोन फिन्च र आन्द्रे तयेले उत्कृष्ट प्रदर्शन गरे।
फिन्चको ७२ रन मद्दतमा गुजरातले बैंगलोरले दिएको १३५ रनको सामान्य लक्ष्य १३.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।
३४ बल खेलेका फिन्चले ५ चौका र ६ छक्काको मद्दतमा ७२ रन बनाए। यस्तै कप्तान सुरेश रैना ३४ रनमा नटआउट रहे। बैंगलोरका सामुएल बद्रीले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा अलआउट हुँदै १३४ रन मात्र बनाउन सक्यो। बैंगलोरका लागि पवन नेगीले स्रवाधिक ३२ तथा केदार जादवले ३१ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बैंगलोरलाई कम स्कोरमा रँक्न गुजरातका तयेले ४ ओभर बलिङ गर्द १२ रन मात्र खर्चेर ३ विकेट लए। उनले क्रिस गेल(८) ट्रेभिस हेड(०) र मन्दीप सिंह(८) लाई बउट गरे। यस्तै रविन्द्र जडेजाले २ विकेट लिए।
जितसँगै गुजरातले बैंगलोरसँग पहिलो राउण्डमा बेहोरेको हारकव बदला समेत लिएको छ।